काठमाण्डाै । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार अपरान्ह ३ : ३० बजे प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् ।
प्रदेश सभामा नेकपा एमालेले बहुमत गुमाएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएकी थिइन् । एमाले उपाध्यक्ष समेत रहेकी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नवगठित एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बनेको छन् ।
उनलाई काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)को समर्थन रहेको छ ।
बागमती प्रदेशका तीन मन्त्रीले पनि शपथ लिएका छन् । गठबन्धनमा सम्मिलित काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका तर्फबाट क्रमशः कृष्णलाल भँडेल, कुमारी मोक्तान र कृष्णप्रसाद खनालले सपथ लिएका हुन् ।
मोक्तानले सामाजिक विकास मन्त्रालय, भडेलले भौतिक पूर्वाधार विकास मन्त्रालय र खनालले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । मन्त्रीहरुले सपथ लिनुअघि नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीको पदको सपथ लिएका थिए ।