विराटनगर ।प्रदेश- १ को मुख्यमन्त्री बन्ने दौडमा रहेका एमाले सचिव भीम आचार्यले नेकपा (एकीकृत समाजवादी) मा जाने सम्भावना भएका सांसदलाई मन्त्री बनाउने आश्वासन दिँदै एमालेमै रोक्ने प्रयास जारी राखेका छन्।
यसको पुष्टि उदयपुरकी एमाले सांसद सुनिता चौधरीले गरेकी छन्। ‘भीम आचार्यको टिममा रहेर मन्त्री हुनुपर्छ भन्ने निरन्तर अफर आइरहेको छ,’ सांसद चौधरीले सेतोपाटीसँग भनिन्, ‘उहाँले नै प्रत्यक्ष भन्नुभएको छैन। उहाँ निकटका नेताहरूले निरन्तर मन्त्री हुनुपर्यो भनिरहेका छन्।’
सांसद चौधरी नेकपा एसमाजवादीका अध्यक्ष माधवकुमार नेपालनिकट हुन्। उनका अनुसार उनीहरूको समूहका अधिकांशलाई केही दिनयता निरन्तर मन्त्री वा संसदीय समितिको सभापतिको अफर आइरहेको छ। मन्त्री पदको आश्वासन आए पनि आफू राजनीतिक प्रतिवद्धताभन्दा बाहिर नजाने चौधरीको भनाइ छ।
‘पदको लोभमा परेर राजनीतिक अभियानबाट अलग हुने कुरै आउँदैन,’, उनले भनिन्।मोरङकै अर्का एक सांसदले पनि मन्त्रीको अफर आएको स्वीकारे। त्यस्तो अफरलाई सामान्य भन्दै आफूलाई मिडियामा ल्याएर विवादमा नतान्न उनले आग्रह गरे।
‘अफर आएको आयै छ,’ ती सांसद्को आग्रह छ, ‘पार्टीमा यस्तो कुरा सामान्य हो। मलाई कोट गरेर असहज नबनाइदिनु्स्।’
तीन दिनअघिसम्म मुख्यमन्त्री बन्न हच्किरहेका भीम आचायले बुधबार साँझ भने आफैं पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर तत्कालै मुख्यमन्त्री बनाइदिन आग्रह गरेको स्रोतको भनाइ छ । आचार्यनिकट स्रोतका अनुसार ‘मलाई मुख्यमन्त्री बनाए सदनमा बहुमत पुग्ने संख्या जोगाउँछु’ भन्ने प्रतिबद्धता उनले ओलीसामु व्यक्त गरेका छन्।
मुख्यमन्त्री बनेपछि मन्त्री र संसदीय समितिको सभापति फेरबदल गर्ने र नेपाल समूहका सांसदलाई एमालेमै टिकाउने वचन आचार्यले ओलीलाई दिएका हुन्। ओलीसँगको आचार्यको भेटपछि नै मुख्यमन्त्री शेरधन राईले राजीनामा दिने र आचार्यलाई अघि सार्ने तयारी एमालेभित्र भएको हो।
संसदीय दलको बैठकको सूचना नै फरक
मुख्यमन्त्रीबारे निर्णय गर्न आज एमाले प्रदेश १ को संसदीय दलको बैठक आयोजना भएको छ। सांसदहरूले भने बैठकको समय फरक-फरक आएको बताएका छन्। ‘मलाई एउटै बैठकको सू्चना दुई फरक समयको आएको छ’, माधव नेपालनिकट सांसद उपेन्द्र घिमिरेले भने, ‘एउटा नौ बजेका लागि छ, अर्को १० बजेका लागि भनिएको छ। कुनमा जाने, नजाने केही टुंगो भएको छैन।’
सांसद सुनिता चौधरीले भने आफूलाई दलको बैठकबारे केही जानकारी नआएको बताइन्।
एमालेका ओली पक्षधर सांसद विमल कार्कीले भने बैठक नौ बजेका लागि बोलाइएको बताएका थिए।
एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले चाहिँ दलको बैठक बिहीबार ११ बजेका लागि बोलाइएको बताए।
‘आज ११ बजेका लागि दलको बैठक बोलाइएको छ,’ उनले भने, ‘बैठकले के गर्ने भन्ने तय गर्नेछ।’
सेताेपाटी