काठमाडौँ । एमालेबाट विभाजित भएको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरू आवासीय भेलाका लागि चन्द्रागिरी रिसोर्ट पुगेका छन् । बुधबार पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखतको तयारी भइरहेका बेला आफू पक्षका नेताहरू दायाँबायाँ नहुन् भन्ने उद्देश्यले उनीहरूलाई एकत्रित गरेर राख्न एकान्तवास लगिएको हो ।
स्रोतअनुसार उनीहरूका लागि सोमबार करिब ५० बेड बुकिङ गरिएको छ । त्यहाँ नेपाल निकट केन्द्रीय सदस्य र सांसदहरू छन् ।
सोमबार ओली र तेस्रो धारका नेताहरूबीच पार्टी एकता गरेर अघि बढ्ने गरी बालकोटमा सहमति भएको थियो । उनीहरूबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ । तेस्रो धारका नेताहरूले आफू पक्षकालाई प्रभावित पार्न सक्नेसमेत भएकाले नेपालले उनीहरूलाई आफ्नो पक्षबाट दायाँबायाँ हुन नदिन रिसोर्टमा पुर्याएका हुन् ।
‘कुन–कुन तहका नेताहरू छन् भन्ने हामीले यकिन गर्न सक्दैनौं,’ स्रोतले भन्यो, ‘तर ४० देखि ५० जनाका लागि सोमबार राति बस्नेगरी बुकिङ भएको छ ।’
बुधबार सनाखत हुने भएकाले मंगलबार पनि त्यहीँ बस्ने सम्भावना रहेको स्रोतले बतायो ।