एजेन्सी ।युरोपियन च्याम्पियनसिपमा मंगलबार राउण्ड अफ १६ को अन्तिम खेल हुँदै छ ।आज हुने खेलमा इंग्ल्यान्ड र जर्मनी तथा स्विडेन र युक्रेन भिड्दै छन् ।
आजको खेलसँगै युरोकपको क्वार्टरफाइनल समीकरण पूरा हुनेछ । आज हुने दुई खेलको विजेताले अन्तिम ८ मा भेट गर्नेछन् ।
यसअघि भएको खेलबाट स्विट्जरल्यान्ड र स्पेन, बेल्जियम र इटाली तथा चेक रिपब्लिक र डेनमार्कले क्वार्टरफाइनलमा भेट पक्का गरिसकेका छन् ।
दोस्रो खेलमा स्विडेन र युक्रेन प्रतिस्पर्धा गर्दै छन् ।
स्विडेनविरुद्ध युक्रेन
राउन्ड अफ १६ को अन्तिम खेलमा स्विडेन र युक्रेन भेट्दै छन् ।
खेल राति पौने १ बजे लन्डनमा हुनेछ । यो खेलको विजेताले आजै हुने पहिलो खेलको विजेतासँग क्वार्टरफाइनलमा भिड्नेछ ।
स्विडेन समूह ‘ई’को विजेताको रुपमा अन्तिम ८ मा पुगेको हो । समूह चरणमा स्विडेनले २ खेलमा जित निकालेको थियो भने एक खेलमा बराबरी गरेको थियो ।
युक्रेन भने समूह ‘सी’को तेस्रो स्थानमा रहेर पनि अन्तिम ८ मा पुगेको थियो ।
युक्रेनले समूह चरणका तीनमध्ये एक खेल मात्र जितेको थियो ।
हेड टु हेडलाई हेर्ने हो भने स्विडेनभन्दा युक्रेन बलियो देखिएको छ ।
यी टोलीबीच हालसम्म ४ खेलमा मात्र भेट भएको छ । सन् २००८ मा पहिलो पटक भेटेका यी टोली पछिल्लो पटक सन् २०१२ मा भेटेका थिए ।
४ भेटमा ३ खेलमा युक्रेन विजयी भएको छ भने एक खेल मात्र स्विडेनले आफ्नो पक्षमा पारेको थियो ।
सन् २०१२ को युरोकपमा भएको पहिलो भेटमा युक्रेनले स्विडेनलाई २-१ गोल अन्तरले हराएको थियो । त्यसपछि भेट नभएका यी टोली ९ वर्षपछि युरोकपमा नै भेट्दै छन् ।
इंग्ल्यान्डविरुद्ध जर्मनी
लन्डनको वेम्बली स्टेडियममा राति पौने १० बजे हुने खेलमा आज इंग्ल्यान्ड र जर्मनी भिड्दै छन् ।
समूह ‘डी’को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको इंग्ल्यान्ड जर्मनीलाई हराउँदै अन्तिम ८ मा स्थान सुरक्षित गर्न चाहन्छ ।
यो खेलको विजेताले आजै हुने राउन्ड अफ १६ को अन्तिम खेलको विजेतालाई प्रतिद्वन्द्वीको रुपमा पाउनेछ ।
उता समूह ‘एफ’को उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको जर्मनी पनि इंग्ल्यान्डलाई हराउन आतुर छ ।
फुटबलमा चिरपरिचित प्रतिद्वन्द्वी ४ वर्षपछि भेट्न लागेका हुन् । यी टोलीबीच सन् १९३० मा पहिलो पटक भेट भएको थियो ।
त्यसपछि अहिलेसम्म यी टोलीहरु ३२ पटक आमनेसामने भएका छन् । हेड टु हेडलाई हेर्ने हो भने १३ खेलमा इंग्ल्याण्डले जितेको छ भने १५ खेलमा जर्मनीले बाजी मारेको छ । ४ खेल भने बराबरीमा टुंगिएको छ ।