कक्षा–५ को बार्षिक परिक्षाको बिदाको बेला पहिलो पटक महिनावारी भएको थिए । तुलनात्मक रुपमा मेरो महिनावारी छिटै भएको हो ।
ममि, काकि, दिदी, फूँपू महिनावारी हुँदा, महिनावारी भनेको थाहा थियो । कसरी हुन्छ ? के हुन्छ ? त्यो चै थाहा थिएन । तर मलाई महिनावारी हुन खुब मन लागेको थियो । ममि चार दिनसम्म बाहिरको काम मात्र गर्नु हुन्थ्यो । महिनावारी हुँदा खाने थाल, गिलास, कचौँरा छुट्टै थियो । भान्साकोठा बाहिर बसेर खानु हुन्थ्यो । ममि महिनावारी हुँदा हजुरआमाले खाना दिनु हुन्थ्यो ।
पछि हजुरआमाहरु अर्को घरमा बस्न थाल्नुभयो । अब बुवा कि दादाले पकाउनु हुन्थियो । ममिले महिनावारी हुदा गाई दुहुनु हुन्न थियो । महिनावारीका बेला सुत्ने ओछ्यान पनि बेग्लै थियो । ममि, दिदी महिनावारीको बेला भुइँमा सुत्नु हुन्थ्यो । मलाई मज्जा लाग्थ्यो । कहिले महिनावारी हुनु र त्यो थालमा भात खानु, त्यो ओछ्यानमा सुत्नु जस्तो एककिसिमको अच्चमको रहर लाग्थ्यो । म– ५ कक्षाको परीक्षा दिएर घरमै बसेको बेला महिनावारीहुँदा एकदम खुसी लाग्यो । ममि, दिदी, फूपू जस्तै भए भन्ने लाग्यो । ममिलाइ खुशी हुँदै सुनाए तर उहाँ पत्याउनु भएन । म जम्मा १० बर्षकी थिए ।
महिनावारी भएपछी आफ्नो घरका छोरामान्छे हेर्नू हुदैन भन्ने चलन थियो । ममिले चलन अनुसार छिमेकीको घरमा अलि पर लगेर ११ दिन बस्नु पर्ने कुरा भन्नू भयो । तर म खुशी भए किनकि पहिलो अनुभव थियो । मलाई ममिले सिकाउनु भयो “दादा बुवालाइ हेर्नू हुदैन । पहिलो चोटि महिनावारी हँुदा दाजूभाईलाई हेर्दा हानी पुग्छ, घर को छानोपनि हेर्नू हुदैन, घरमा नराम्रो हुन्छ ।” ममिले छिमेकीको घरमा लग्नु भयो । म खुशी बिन्दास हुँदै गए । मीठो मीठो खाने कुरा दिदी बोकेर आउथी, मलाई पहिलो दिन त मज्जा पो लाग्यो । एक्लो महसुस गर्छु, सानै छे भनेर पनि होला ममिले खानेकुरा ढुङ्ग्री, चटपटे, तितउरा, चाउचाउ ,बिस्कुट, चकलेट पठाइदीई रहनु हुन्थियो । जब ३/४ दिन बित्यो त्यो कोठामा बस्न एक्लै बस्न दिक्क लाग्न थाल्यो । चार दिनको दिन ममि आफै खाना लिएर आउनु भयो, मलाई ममि देख्दा भक्कानु फुटेर आयो । यहाँ नबस्ने घर नै जाने भनेर जिद्दि गर्न थाले । अब त महिनावारी भए जस्तो नि केही छैन नपत्याए हेर्नू भन्दै ममिसँग रुन थाले । ममिले फकाउनु भयो । त्यो दिनदेखि ममि खाना लिएर आउनु भएन म रुन्छु भनेर होला सायद । दिदी, कहिले काहि छिमेकी साथिलाइ पठाइदिन थाल्नु भयो ।
एकजना हजुरआमा हुनुहुथ्यो त्यो घरमा । हजुरआमाले आफुहरुलाई त केही खान दिदैन थिए, भन्दै पहिला पहिलाका कहानी सुनाउनु हुन्थ्यो । पुराना कथा सुनाउनु भयो । घर गए पाप लाग्छ है भन्दै सम्झाउनु भयो । त्यो बेला हो जस्तै लाग्यो । मैलेमात्र होइन नि मेरा साथी दिदिले पनि यस्तै विश्वास गरे जस्तो लाग्यो । केहि दिन धुमधुम्त बसेपछि अनेक कुरा मनमा खेल्न थाल्यो । हाम्रो घर नजिकै थियो । तर सातदिन भैसक्दा पनि झ्यालबाट हेरेको थिईन । दादालाई देखे भने नराम्रो हुन्छ, घरको छाना देखे भने मेरो घरलाई पाप लाग्छ भनेर मैले हेरिन ।
सात दिन बितेपछी किन यसरी बस्ने भन्ने प्रश्न जाग्न थाल्यो । बुवाले त तिमिहरु दुइटी छोरी र दादा हाम्रो लागि एउटै हो, बराबर हो भन्नू हुन्थ्यो । तर हामीमात्र बस्नु यसरी बस्नु पर्ने, यस्ता अनेक प्रश्न मेरो मनमा आउथ्यो । म भुइँमा सुत्नु पथ्र्यो, त्यहाँ एउटा सानो प्वाँल थियो । त्यहाँबाट हाम्रो घर देखियो, कस्तो खुसी लाग्थ्यो । घरको न्यास्रोले यसरी सतायो, झ्यालको एकापट्टी खोलेर हेर्न थाले । बुवा परिवारमा सबै भन्दा प्रिय । एकदिन बुवा घर आउनु भएको देखे, बुवालाइ टाढैबाट हेरेर रोए । सम्झिए अब त बुवाले मलाइ काखमा नि राख्नु हुन्न होला ? दिन गन्दा त थोरै जस्तो लाग्थ्यो तर मैले विताएको समय बर्षौको अनुभुत हुन थाल्यो । मेरो त्यो रहर अत्यासलाग्दो अनुभुक्तिमा रुपान्तरण भयो ।
बुवा बाहिरबाट घर आएर खोज्नु भयो कि भएन ? कान्छी छोरी “पर सरि” भन्दा के भन्ठान्नु भयो होला ? यस्तै, अनेक कुराले म आतिन्थे । त्यो भन्दापनि अब बुवा काखमा बस्न पाउदिन खुब पिर लाग्थ्यो ?
दादा, बुवा, घरको छानु हेर्न नहुने कुरा मनमा आइरह्यो । बाल मस्तिष्कले भन्यो एकचोटी हेर्दा के हुदो रहेछ भनेर लुकेर हेरीदिए । हाम्रो बाख्रालाई देखे । ममि गोबर ग्यासमा गोबर हालेर चलाउदै हुनुहुदो रहेछ । बुवाले गाईलाइ बारिमा बाधेको पनि हेरे, दादा साइकल चडेर आएको पनि देखे, दिदीले बाख्राको सोतर सुकाएको नि देखे । दिदिसँग सधै झगडा पथ्र्यो । सानी भएर उसलाई केही काम नलगाउने भनेर दिदी गुनासो गर्थी । उसले काम गरेको देखेर खुसी भए, ठिक्क परो भन्ने लाग्यो ।
अनि फेरि सम्झे ला… अब म ठुली भए अब त मलाई सानी भनेर नलगाएको काम नि लगाउछन भन्ने सम्झेर दुखी भए । कत्रो बेर हेरेछु घर दादालाइ केही भयो भने ? म भावुक बने । अनायाशै आशु आयो । ममिले त बुवालाइ नि नहेर्नु भन्नू भएको थियो, केही भयो भने ? डर अत्याधिक लाग्न थाल्यो । यहत्तपत्त झ्याल बन्द गरे, दिदिले खाना लिएर आइ । सोधे “बुवालाई, दादालाई केही भएको त छैन नि ?”
“ला बुवाले ल्याउनु भएको, धनकुटे बिस्कुट । मिठो लाग्छ तलाई भनेर मेरो पनि तलाई ल्याईदिएकी छु” दिदिको यो कुराले फेरी खुसी भए । फेरि सोधे “दादा बुवालाइ केही भएको छैन नि ?”
दिदिले सोधि “छैन किन ?” सपनामा देखेको थिए भन्दीए ।
दिदि के गएकि थिई बाख्राकी पाठि करोयो । मलाई नै सम्झैर कराएजस्तो महसुस भयो । उस्को (पाठी) को आमा मर्दा बोतलमा दूध हालेर मैले खुवाएको थिए, यहि मायाले सम्झिएको होला जस्तो लाग्यो । त्यो पनि त म जस्तै छोरी हो उ चै महिनावारी हुन्छे कि हुन्न होला ? सम्झिदै सुते, सुते के भन्ने ढल्किए, निदाईन ।
यसरी बस्न एक दिन मात्र बाकी थियो तर मनमा अनेकन प्रश्न थिए । नयाँ लुगा लगाएर आफ्नो घर जानु पथ्र्यो । नयाँ लुगाले केहि न केहि त खुसि दिएकै थियो । दिदी महिनावारी भएर घर आउदा नयाँ लुगा लगाएकी थिई । मलाइ चै नकिनिदिएकोमा गुनासो गरेको थिए त्यो बेला ।
११ औँ दिन सनिवार परेको थियो । ममी बिहानै नँया लुगा लिएर आउनु भयो । ममीले सम्झाउदै भन्नु भयो “बुवाको काखमा नबस्नु, अझै २२ दिन लाग्छ चोखिन, कल नछुनु, खानेकुरा नछुनु ।” मागेर खानु, दादालाई नछुनु, घर पस्ने बेला सुनपानीले छर्केपछी मात्र पस्नु, गहँुत नि खानु पर्छ ममीले भनेको कुरा अहिले नी सम्झिन्छु ।
मलाई दुइ वटा कुराको पिर पर्यो । एउटा बुवाको काखमा बस्न नपाउने अनि अर्को गहुँत खानु । त्यो पनि खाउला तर बुवाको दादाको मुख अब कसरी हेर्नू ? महिनावारी भैसकेर ठुली भए । मनमा अनेक डर, लाज लागिरह्यो ।
घरमा दिदी जिस्काउन तयार थिई, जिस्काइ पनि । लाज लाग्यो बुवालाई मलाइ हेरेर । छोरी कहाँ गएकी थिइस भन्नू भयो भुत्तुक्कै भए । सायद लाजको घुम्टो पहिला पल्ट ओडेको थिए । अब बुवाको काख पनि रहेन अनि अब म सानी पनि कहाँ रहेर ? पर सारेर खान दिने भएर होला है पर सरेको भनेका यस्तो पनि लाग्यो । रजस्वला भए पछि समाजमा परिपक्व मानिन्छ, प्रजनन क्षमतामा दक्ष भएको थिए । अब म पनि प्रजनन योग्य भएको थिए । तर म केवल दश बर्ष कि थिए ।
ममिले समाजले सिकाएको सबै कर्म गर्नु भयो । नँया लुगा लगाउन लगाउनु भयो । सुनपानीले छर्किनु भयो । गहँुत दिनु भयो मुख बिगार्दै अलिकती जिब्रोमा लगाए । दादालाई हेरे, मलाई नहेरेझै नजर घुमाउनु भयो । झन लाज लाग्यो । बुवालाई हेरे, सधै बस्ने काख रित्तो लाग्यो । आँखाभरी आँसु आयो । बुवाले हात ले आफुतिर आउने इसारा गर्नु भयो, छेउमा गए बुवाले मेरो हात तानेर आफ्नो काखमा राख्नु भयो । मलाइ लाग्यो ममात्र होइन बुवाको काख पनि मलाई काखमा राख्न आतुर रहेछ । एकाएक मन प्रफुल्ल भयो । ओठमा मुस्कान आयो । ममिले पर बाट लु त्यसरी हुदैन अब ठुली भै नानी काखमा नबोक्नु भन्नु भयो । ममिलाई पनि थाहाथियो छोरी सानै छे तर ममी, बुवा भन्दा धेरै सामाजिक बन्धनमा थिचिनु भएको थियो । चलिआएको चलनमा रुमलिनु भएको थियो । किनकी ममि महिला हो अनि बुवा पुरुष । बुवा जस्ताले नियम बसाएका हुन् । पालना ममिहरु ले गरेका हुन् । नियम बनाउनेलाइ भन्दा नि नियम पालनागर्नेलाई थाहाहुन्छ त्यस्को मर्म ।
बुवाले मलाइ काख मा बोक्दै मेरि छोरीलाई ज्वाइँ लिएर आएपछी पनि यसरी नै काखमा बोक्छु भन्नु भयो । लाजको घुम्टो अलि अलि उघार्दै गयो तर मनमा अनेक प्रश्न पनि थपिदै गए । ममिले महिनावारी हँुदा गाई नदोएको देखे तर मैले मेरो घरको गाइको दूध नचलेको देखिन ? गाई महिनाबारी हुदैन ? नौरथा मन्दिर कयाँै पटक महिनावारी भएर गएकी छैन्, त्यहाँ बिराजमान माता महिनावारी हुन्नन ? महिनावारी जहाँबाट शुरूवात हुन्छ, नँया जीवन पनि त त्यही शुरूवात हुन्छ । महिनावारी हँुदा आफैले जन्माएको छोरोलाइ छोएको नदिनु रे, बालखमा दूध त महिनावारि हुँदा नि खाएका हुन त ? यो कसले बनाएको नियम होला ? सानोमा त्यहि आमाको दूध चल्ने ठूलो हुदा नचल्ने ? महिनावारी पाप अरे, त्यही पाप कटाउन हिन्दु धर्ममा हरेक ऋषि पञ्चमीमा व्रत बसेर पाप कटाउनु पर्ने रे । यो अनि यस्ता प्रश्न हजारौँ पटक मनमा आएका छन् ।
मैले लुकेर मेरो घर मेरो बुवा मेरा दादा लाई हेरे केही भएन त । स्कुल जादा बिर्सेर कयौ पटक मन्दिर पसेको छु । म नछुने भएको कुरा, भएको पीडा सहजै मेरो दादा बुवालाइ भन्न सक्छु । सायद बुवाले अब छोरी ठुली भई भनेर काख नदिएको भए, के म मेरा रजस्वला हुदाका पीडा भन्न सक्थे होला र ? महिनावारी प्राकृतिक कुरा हो बुझ्दा बुझ्दै किन बार्नु पर्ने ? यति भनिरहँदा सकारात्मक पक्षपनी त्यो बेला देखेको थिए । बाहिरको हजार काम भ्याएर ममिले नै खाना बनाउनु पथ्र्यो । कमसेकम चार दिन ममीलेपनी अरुले दिएको खाना खान पाउनु हुन्थ्यो । महिनावारी बार्नेको कारण पनि होला तर यहि कारणले कसैको ज्यान जान्छ भने त्यो मान्नु हुदैन । अथवा त्यस्ता नियम लाई सहज बनाउदै जानू पर्छ ।
आखिर के हो महिनावारी ?
महिनावारी एक प्राकृतिक प्रक्रिया हो । महिनाबारीलाई “वीपिङ अभ युटेरस” पनि भन्ने गरिन्छ । महिनावारी स्तनधारीहरू मध्ये प्राइमेटस् अर्थात् मानिस, बाँदर, गोरिल्ला आदिमा हुने प्राकृतिक प्रक्रिया हो । यस बाहेक अन्य स्तनधारीमा यो प्रक्रिया हुँदैन । महिनावारीले प्रजनन स्वास्थ्य राम्रो छ भन्ने संकेत गर्दछ । महिनावारी कुनै निर्धारित समयमा हुन्छ जुन मानवीय जीवनका लागि अपरिहार्य प्राकृतिक प्रक्रिया हो ।
असर
छाउपडीका रूपमा बसिरहेका बेला विभिन्न कारणले महिलाहरूले ज्यान समेत गुमाएका विवरणहरूका माझ सन् २०१८ को अगष्टमा नेपालले छाउपडीलाई गैरकानुनी घोषणा गरेको थियो ।
राष्ट्रिय मानवअधिकार आयोगले २०६२ साल यता छाउ गोठमा बस्दा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा १५ भएको अभिलेख आफूसँग रहेको जनाएको छ । मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३)ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गरे या यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था नयाँ कानुनले गरेको छ ।
दैलेखको भैरवी गाउँपालिका र दुल्लु नगरपालिकाका १४ देखि १९ वर्ष उमेरका ४०० किशोरीहरूमाझ गरिएको अध्ययनले ७७ प्रतिशतले छाउपडी अभ्यास गरिरहेको देखाएको छ ।
महिनावारीको समयमा मन्दिर वा भन्सा कोठा प्रवेश नगर्ने, आफ्नो ओछ्यानमा नसुत्ने, कुनै पनि वयस्क सदस्यलाई नछुने किशोरीहरूको सङ्ख्या निकै ठूलो रहेको उक्त अध्यनयले देखाएको छ ।
९ प्रतिशतले आफूले छाउपडी अभ्यास नगरेपनि महिनावारीको समयमा आफ्नै ओछ्यानमा सुत्न नपाएको र ९३ प्रतिशतले डर÷छटपटी वा नराम्रो महसुस गरेको एक अध्यनले बताएका छन् ।
सन २०१४ देखि नेपालमा विभिन्न गैरसरकारी निकायको अगुवाईमा मे २८ का दिन, विश्व महिनावारी स्वच्छ्ता दिवस मनाईन्छ ।
महिनावारी श्राप होइन
किन महिनावारी बार्ने ? कसरी महिनावारी पाप हो ? जति पनि महिनावारीसँग जोडिएका बाध्यता, अन्धविश्वास छन् ती सबैको आगामी पुस्तासम्म पुग्न हस्तान्तरण हुनु नदिनका लागि प्रयास हुनु आवश्यक छ । महिनावारी हुने भएकै कारण महिनावारी नहुनेहरु भन्दा कमजोर छन् भन्ने अन्धविश्वास अर्को पुस्तामा पुग्न नदिनु नै उपलब्धि हुने छ ।