पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिका–३ कोप्चे सिरान टोलमा बिहिबार बिहान एक युवकले मानसिक असन्तुलनका कारण आफ्नै गोठमा रहेका पशुहरुमाथि बन्चरो प्रहार गरेकाे दुःखद घटना सार्वजनिक भएको छ। बिहिबार बिहान करिब साढे ६ बजेतिर जितबहादुर लावतीका २४ वर्षीय छोरा रेशम लावतीले गोठमा रहेका दुई गाई, एक बाछो, दुई बाख्रा र एक कुकुरका बच्चासहित ६ वटा पशुमा धारिलो हतियार बन्चरो प्रयोग गरी आक्रमण गरेका थिए।
प्रहरीका अनुसार ६ मध्ये एक बाछो गम्भीर घाइते अवस्थामा भेटिएको छ र स्थानीय पशु चिकित्सकको उपचारमा राखिएको छ। अन्य पाँचवटा पशुको मृत्यु भइसकेको पुष्टि गरिएको छ। मानसिक सन्तुलन बिग्रिएका रेशम लावतीलाई उपचारका लागि उनकी आमा बुद्धमाया लिम्बुको जिम्मामा राखी घोपा, धरानतर्फ पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिस कुमार कर्णले घटनाबारे जानकारी दिँदै भने, “युवकको मानसिक स्वास्थ्य समस्या भएकाे बुझीएकाे छ । यही कारणले यस्तो दुःखद घटना भएको अनुमान गरिएको छ। अहिले उनी उपचारका लागि परिवारको जिम्मामा धरान पठाइएको छ,” डिएसपी कर्णले स्पष्ट पारे।




