दिपक बोहोरा । पाँचथर
मंगलबार दिउँसो मिक्लाजुङ गाउँपालिकाको अमरदिप आधारभूत विद्यालयको खेलमैदानमा फरक रौनक थियो । चारैतिर हरियो चिया बगानले घेरेको मैदानमा प्रायः फुटबलको हुटिङ सुनिन्थ्यो, तर त्यस दिन ब्याट र बलको ठोकरसँगै छक्का–चौकाको आवाजले मैदान गुञ्जिएको थियो । रबि बजार नजिकैको सानो मैदानमा करिब ७ सय दर्शक उपस्थित थिए, जो तेस्रो मिक्लाजुङ प्रिमियर क्रिकेट प्रतियोगिताको फाइनल खेल हेर्न आएका थिए ।
फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको मंगलबारे क्रिकेट क्लबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २१७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको कुरुम्बा हिल्स राइडर्स क्रिकेट क्लबले लक्ष्य १९.२ औं ओभरमै लक्ष्य पूरा गर्दै ४ विकेटको जित हात पार्यो । यस जितसँगै कुरुम्बा हिल्स राइडर्सले प्रतियोगिताको उपाधि आफ्नो बनायो ।
भौगोलिक बिकटता र सीमित स्रोतबीच मिक्लाजुङ क्रिकेट एसोसिएसनले आयोजना गरेको यो प्रतियोगिताले गाउँमा क्रिकेटप्रतिको आकर्षण झनै बढाएको छ । अध्यक्ष अर्पण राईका अनुसार, गाउँमा क्रिकेट संस्कृतिको विकासका लागि निरन्तर प्रयास भइरहेको छ । “पहिलो संस्करणमा १५ हजार पुरस्कार राशिबाट सुरु भएको प्रतियोगिता अहिले ५० हजार रुपैयाँसम्म पुगिसकेको छ,” उनले बताए । “देश विदेशमा रहेका मिक्लाजुङका युवाको सहयोगले यो सम्भव भएको हो ।”
फाइनल खेलमा दर्शकको उत्साह अभूतपूर्व थियो । फुटबल हेर्ने दर्शक पनि अब ब्याट र बलको भिडन्तमा रमाउँदै ताली बजाउँदै थिए । हरेक चौका र छक्कामा मैदान गुञ्जिन्थ्यो र दर्शकको हुटिङ सुरु हुन्थो ।
मिक्लाजुङ गाउँपालिकाका प्रवक्ता अविशन लावतीका अनुसार, यस उत्साह र सहभागिताले गाउँपालिकालाई क्रिकेटमा लगानी गर्न प्रेरित गरेको छ । “आगामी वर्षदेखि मिक्लाजुङ खेलकुद विकास समितिमार्फत क्रिकेट खेलका लागि बजेट छुट्याउने तयारी भइरहेको छ । अन्तरविद्यालयस्तरीय प्रतियोगिता आयोजना गरी विद्यालयबाटै नयाँ खेलाडी खोज्ने योजना पनि अघि बढाइरहेका छौं,”। उनले बताए ।
अर्पण राईले भने, “गाउँमा फुटबलको परम्परागत लोकप्रियता रहे पनि अब क्रिकेटले मन जित्न थालेको छ । हामी चाहन्छौं कि मिक्लाजुङबाट भविष्यमा राष्ट्रिय टिमका खेलाडी निस्कुन् ।” यसरी, मिक्लाजुङको मैदानमा अब केवल फुटबलको रोल मात्र होइन, ब्याट र बलको आवाज पनि उतिकै गुञ्जिन थालेको छ, र गाउँमा क्रिकेट संस्कृतिको नयाँ अध्याय सुरु भएको छ ।