पाँचथर– भोजपुर नगरपालिका २ हेलौछा बस्ने राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार राई आफैंले शनिबार राति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेर ‘ममाथि चक्कु प्रहार भएकाले मैले मान्छे मारें, मलाई पक्राउ गर्न आउनुस्’ भनेर फोन गरेका थिए । राजेन्द्र राईका ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु मन्जु गिरी र उनका श्रीमती र सालोको हत्या गरेका हुन् । प्रहरीले श्रीमती र सालो ‘अन्डर एज’को भएको भन्दै नाम भने खुलाएको छैन । श्रीमती १६ वर्ष र सालाे १० वर्षका छन् ।
राजेन्द्र राईलाई भने रामप्रसाद राई गाउँपालिका वडा नम्बर १ हर्बुभञ्ज्याङ भन्ने ठाउँमा घाइते अवस्थामा फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको छ । चार जनाको हत्या भएको ठाउँ र राजेन्द्र राई घाइते अवस्थामा फेला परेको ठाउँ करिब ४-५ किलोमिटर दुरीमा पर्दछ ।
राजेन्द्र राईको पेटमा धारिलो हतियारको चोट छ । उनी जिल्ला अस्पतालमा उपचाररत छन् । उनले शनिबार राति करिब ११ बजे सासु आमाले चक्कुले हानेपछि आफूले चार जनाको हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । उनकाे प्रेम विवाह भएकाे थियाे ।