पाँचथर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको झडपलाई लिएर मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतले आह्वान गरेको बन्दका कारण आज पनि मेची राजमार्गमा यातायातका साधन संचालन हुन सकेका छैनन्।
झापा जिल्लाबाट मेची राजमार्ग हुँदै इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारी साधनहरु पूर्ण रुपमा ठप्प रहेका छन्। त्यस्तै इलाम,पाँचथर र ताप्लेजुङमा पनि यातायातका साधनहरु चल्न सकेका छैनन्। तर, बजार पसल, सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरु भने खुल्ला रहेका छन्।
माघ १२ गते ताप्लेजुङको फुङलिङ –११ स्थित बलुडाँडामा भएको झडपलाई लिएर मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतले हिजोदेखि मेची राजमार्ग, तमोर करिडोर, तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका, ताप्लेजुङ जिल्लाभित्र अनिश्चितकालीन यातायात बन्द आह्वान गरेका हुन्।