काठमाडौँ । एसिया कप क्रिकेटमा नेपाल बुधबार पाकिस्तानसँग आफ्नो पहिलो खेल खेल्दै छ। नेपाल र पाकिस्तानबीचको खेल दिउँसो ३ः१५ बजे मुल्तानमा सुरु हुनेछ। पहिलो पटक एसिया कपमा खेल्न लागेको नेपाल पहिलो पटक विश्व नम्बर वान पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। केही तथ्यांकमा हेरौँ पाकिस्तान र नेपालको स्थितिः
वरीयतामा १३ सय २९ अंकले पाकिस्तान अगाडि
एकदिवसीय क्रिकेटको विश्व वरीयतामा एक नम्बरमा रहेको पाकिस्तान नेपालभन्दा १३ सय २९ अंकले अघि रहेको छ। एकदिवसीय वरीयतामा विश्व नम्बर एक बन्ने क्रममा पाकिस्तानको कुल २७ सय २५ अंक रहेको छ। उसले वरीयताको दोस्रो स्थानमा रहेको अस्ट्रेलियालाई ११ अंकले पछि पारेको छ।
नेपाल भने एकदिवसीय वरीयताको १५ औँ नम्बरमा रहेको छ। नेपालको कुल १३ सय ९६ अंक रहेको छ। एकदिवसीय वरीतामा कुल १९ टिम रहेका छन्। नेपालभन्दा पछि नामिबिया, युएसए, ओमान र युएई रहेका छन्।
ब्याटिङ वरीयतामा पाकिस्तानको दबदबा
विश्व नम्बर एक पाकिस्तान ब्याटिङ वरीयतामा पनि विश्वका खेलाडीहरुमाथि दबदबा बनाउन सफल भएको छ। पाकिस्तानका बाबर अजाम ८ सय ८० रेटिङका शाथ शीर्ष स्थानमा रहँदा शीर्ष पाँचमा पाकिस्तानका तीन खेलाडी छन्। इमाम उल–हक तेस्रो स्थानमा रहँदा फखर जमान पाँचौं स्थानमा छन्।
शीर्ष १०० औँ वरीयतामा नेपालका २ खेलाडी अटाउँदा पाकिस्तानका ५ खेलाडी रहेका छन्। नेपाली खेलाडीभन्दा अघि पाकिस्तानका मोहम्मद रिजवान ५८ औँ र हरिस सोहाली ६० औँ स्थानपछि मात्र नेपाली खेलाडी वरीयतामा रहेका छ्न्। अर्थात नेपाली खेलाडीभन्दा पाकिस्तान पाँच ब्याटरको वरीयता माथि रहेको छ। नेपालका रोहित पौडेल ४ सय ८० रेटिङका साथ ७३ औँ स्थानमा रहेका छन्। त्यसपछि आसिफ शेख ८० औँ स्थानमा रहेका छन्।
बलिङ वरीयतामा साहीन अफ्रिदीभन्दा ६५ अंकले पछि सन्दीप
बलिङको शीर्ष १०० वरीयतामा पाकिस्तानका ७ बलरले स्थान बनाउँदा नेपालका ५ बलरले शीर्ष सयमा स्थान बनाएका छन्। पाकिस्तानका साहीन अफ्रीदी ६ सय ३३ अंकका साथ नवौं स्थानमा रहेका छन्। नेपालका सन्दीप लामिछाने ५ सय ६८ अंकका साथ २२ औँ स्थानमा छन्
सन्दीपपछि पाकिस्तानका हरिस रौफ ३६ औँ स्थानमा रहँदा मोहम्मद नवाज ३८ औँ स्थानमा छन्। सदाव खान ५२ औँ स्थानमा रहँदा नेपालका दीपेन्द्र सिंह ऐरी ६३ औं स्थानमा छन्।
त्यस्तै, पाकिस्तानका मोहम्मद वासीम ७४ औँ स्थानमा रहँदा नेपालका सोमपाल कामी ८० औँ वरीयतामा रहेका छन्। त्यस्तै, करण केसी ८३ औँ वरीयतामा रहँदा पाकिस्तानका नसिम साह करण समान ८३ औँ स्थानमा नै छन्। त्यस्तै, पाकिस्तानका हसन अली ९२ औँ स्थानमा रहँदा नेपालका ललित राजवंशी ९८ औँ स्थानमा छन्।
अलराउन्डरतर्फ नेपाल र पाकिस्तान दुबै कमजोर
ब्याटिङमा बलियो पाकिस्तान बलिङमा वरीयतामा औसत रहेको छ। तर, अलराउन्डरतर्फ भने पाकिस्तान पनि कमजोर रहेको छ।
पाकिस्तान अलराउन्डर वरीयताको शीर्ष २० वरीयतामा २ सय २ रेटिङका साथ सादव खान १४ औँ स्थानमा छन्। अन्य खेलाडी भने अलराउन्डरको लिस्टमा छैनन्। नेपालका भने कुनै पनि खेलाडीले आईसिसीको शीर्ष २० अलराउन्डर वरीयतामा स्थान बनाउन सकेका छैनन्।
देशसञ्चार