ताप्लेजुङ । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा ४७ देशको मुद्रा संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा बढी भारतीय, अमेरिकी डलर र थोरैमा रोमानियाको मुद्रा भेटिएको हो ।
गत आर्थिक वर्षमा भारु १९ लाख ६४ हजार ५ सय ४० चढाएको पाइएको समितिका अध्यक्ष रक्की थेबे लिम्बूले जनाए । यो ३१ लाख ४३ हजार २ सय ६४ रुपैयाँ हो । भारुपछि अमेरिकी डलर ३ हजार ३ सय १९ (नेपाली ४ लाख ३८ हजार ९ सय चार रुपैयाँ) र सबैभन्दा कम रोमानियाको पैसा रोमानियाली लेउ एक (२८ रुपैयाँ) भेटिएको हो । चिनियाँ युआनसमेत ९१ (नेपाली १ हजार ६ सय ३८ रुपैयाँ) भटिएको क्षेत्र विकास समितिले बताएको छ ।
साउदी, मलेसिया, कतार, भुटान, कुवेत, हङकङ, कोरिया, दुबई, इंग्ल्यान्ड, इराक, माल्दिभ्सलगायत देशको मुद्रा भेटीमा फेला परेको समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेको भनाइ छ । भारतबाहेकको मुद्रा साटिएको छैन । धेरैजसोमा रङ लागेकाले कति सटही हुन्छ भन्नेमा समिति अन्योलमा छ । ‘पैसा मिलाएर राखेका छौं । धेरैमा रङ लागेकाले कति साटिन्छ वा साटिँदैन, थाहा छैन,’ काफ्लेले भने ।
पाथीभरामा भेटी तथा दानबाट गत आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी ३ करोड १९ लाख १६ हजार ८ सय रुपैयाँ संकलन भएको कार्यकारी निर्देशक काफ्लेले जनाए । नोट र पैसा २ करोड ८५ लाख ६२ हजार ४ सय ९८, सिक्का सटहीबाट ८ लाख १५ हजार ६ सय, दाताले बैंकमा जम्मा गरिदिएको १४ लाख ५४ हजार ४ सय ३ र भेटीबापतको भारु नोट १० लाख ८४ हजार ३ सय रहेको उनले बताए । अघिल्लो आर्थिक वर्षमा भने २ करोड १४ लाख भेटी संकलन भएको थियो ।
समितिको कोषमा ७ करोड ८८ लाख १० हजार २ सय ५ रुपैयाँ जम्मा रहेको जनाइएको छ । पाथीभरामा चढाइएको सुनचाँदी भने अलग्गै छ । यसलाई तौल गर्ने, गाल्ने र बिक्री गर्ने छुट्टै समिति बनाइएको समितिका सदस्य पृथ्वी पालुङ्वा बताउँछन् । भेटीबाट संकलित रकमले करार र ज्यालादारीमा कर्मचारी राख्ने, फोहोर व्यवस्थापन गर्ने, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीका लागि खाना, खाजा बन्दोबस्ती गर्ने र समस्या पर्नेहरूलाई उद्धार गर्नेलगायत काम हुने गरेको छ । समितिले संकलित रकमबाट चालु आर्थिक वर्षमा माथिल्लो फेदीदेखि मन्दिरसम्म फाइबरको ट्रस लगाउने र मन्दिर परिसरमा खानेपानी ट्यांकी बनाउने निर्णय पनि गरेको छ । त्यसका लागि तीन करोड लाग्ने अनुमान गरिएको थेबेले जनाए ।