विराटनगर । माओवादी केन्द्रले कोशी प्रदेश सरकारमा कसलाई मन्त्री बनाउने भन्ने विवाद चुलिएपछि मुख्यमन्त्री उद्धव थापाको शपथ नै सरेको छ । बिहान साढे १० बजे भनिएको शपथको समय साँझ ५ बजेका लागि सारिएको छ । माओवादी केन्द्रबाट मन्त्रीका लागि दाबी गर्नेको संख्या आधा दर्जनभन्दा धेरै छ । तर, प्रचण्डका छोरीज्वाइँसमेत रहेका प्रदेश सांसद जीवन आचार्यले फेरि मन्त्रीका लागि दाबी गरेपछि लफडा बढेको हो ।
सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने सहमति रहेको छ । हुनलाई मन्त्रीभन्दा ठूलो पद सभामुख छोडेर मन्त्रीमा झरेका गौतमको नैतिकतामा भने थप प्रश्न उठेको छ । तर, गौतमलाई मन्त्री बनाउने अनौपचारिक सहमति छ । त्यसैगरी ,मन्त्रीका लागि माओवादीबाट दुर्गाबहादुर चापागाईं, जीवन आचार्य, नारायण बुढा र राजेन्द्र कार्कीलगायतका नेताहरू रहेका छन् । उदयपुरबाट दोस्रोपटक निर्वाचित नारायण बुढामगरले अघिल्लोपटक पनि मन्त्रीका लागि दाबी गरेका थिए ।
त्यतिबेला उनले मन्त्री हुन नपाएपछि राजीनामा दिने धम्कीसमेत दिएका थिए । अहिले पनि उनी दाबेदार छन् । त्यतिबेला बुढालाई मन्त्री बनाउने टुंगो लागे पनि अन्तिममा राजेन्द्र कार्कीलाई मन्त्री बनाइएको थियो । अहिले ती कार्की पनि दाबेदार रहेका छन् । २२ दिन मात्रै मन्त्री भएकाले केही काम गर्नेगरी सरकारमा जानुपर्ने उनको दाबी रहेको छ ।
उनीहरूको बीचमा सहमति जुटेको छैन भने आचार्य अर्को पटकका लागि दाबी गर्न थालेपछि समस्या छ । माओवादीमा इन्ट्रीसँगै अवसर मात्रै पाइरहेकाले आचार्यलाई मन्त्री बनाउन नहुने चर्को मत कोशी प्रदेशको संसदीय दलमा रहेको छ । प्रचण्डकी छोरी गंगा दाहालका श्रीमान आचार्यले ज्वाइँ भएकै कारण अस्वाभाविक अवसर पाउने गरेका छन् ।
काठमाडौंको ठमेलमा सामान्य व्यापार गर्ने आचार्य गंगा दाहालसँग भेट हुनुअघिसम्म कांग्रेसको राजनीतिमा थिए । गंगासँग सम्बन्ध बढेसँगै माओवादीनिकट भएका उनी बिहेपछि निरन्तर अवसरमा लागेका छन् । २०७४ मा मोरङ ६ बाट संघीय सांसदको उम्मेदवारका दाबेदार आचार्य प्रदेशसभामा उठेका थिए । वाम गठबन्धन भएकाले त्यतिबेला एमालेका लालबाबु पण्डितलाई सिट छोड्नुपर्ने भएकाले आचार्य प्रदेशमा झरेका थिए ।
यद्यपि, त्यतिबेला उनी पराजित भए । पराजित भएपछि उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालयमा विज्ञ सदस्यको नियुक्ति खाए । त्यो नियुक्तिको म्याद नगुज्रिँदै २०७९ को चुनावमा आचार्य कांग्रेससँगको गठबन्धनमा शेखर कोइरालालाई संघमा उठाउँदा आफू प्रदेशसभामा उठेर निर्वाचित भएका छन् । त्यसो त, प्रचण्डले व्यक्तिगत जोड बलमा एक वर्षअघि केन्द्रीय सदस्य मनोनीत गरेका छन् ।
हलमा उनको नाममा विरोध भए पनि प्रचण्डले त्यही विरोध छल्न पछि सर्कुलरमा उनको नाम समेटेर पठाएका थिए । अर्थात् प्रचण्डले पनि किर्ते बाटो अपनाएर माओवादीको केन्द्रीय सदस्य बनाएका थिए । अहिले तिनै आचार्य प्रदेशसभामा हावी हुन खोजिरहेका छन् । उनलाई मात्रै अवसर दिन नहुने मत ठूलो भए पनि प्रचण्डको धाककै कारण आचार्यलाई रोक्न भने सबै सांसदले हिम्मत जुटाउने गरेका छैनन् ।