इलाम । देउमाई नगरपालिका ४ स्थित मंगलबारेमा रहेको देवी डाँडामा निजी क्षेत्रबाट भगवान शिवको मूर्ति निर्माण गरिएको छ । बुधबारे बजार नजिकै रहेको देवी डाँडामा समाजसेवी शेरमान श्रेष्ठले मूर्ति निर्माण गरिदिएका हुन् ।
निकै आकर्षकरुपमा निर्माण गरिएको मूर्ति केही उचाइमा रहेकाले टाढैबाट देख्न सकिन्छ । मंगलबारे बजारदेखि तल झर्दै गर्दा बुधबारे बजारदेखि नै प्रष्टरुपमा शिव मूर्ति देख्न सकिन्छ । यसले धार्मिक पर्यटकलाई मात्र नभएर जोकोहीलाई आकर्षित गर्ने गरेको स्थानीय बताउँछन् ।
श्रेष्ठकी श्रीमती स्व अम्बिकादेवी श्रेष्ठको स्मृतिमा निजी खर्चबाट प्रतिमा स्थापना गरिएको हो । दिवंगत श्रीमती श्रेष्ठ शिव भगवानको भक्त रहेकाले उनकै इच्छाबमोजिम १२ लाख रुपैयाँको खर्चबाट प्रतिमा बनाइएको श्रेष्ठले बताए । ४ फिटको जगसहित मूर्तिको उचाइ १० फिट रहेको छ ।
पर्यटकीय र धार्मिक स्थल बनाउने उद्देश्य तथा स्थानीय बुधबारे बजारलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेर प्रतिमा स्थापना गरिएको उनको भनाइ छ । निर्माण कार्य सम्पन्न भए पनि केही काम बाँकी रहेको उक्त प्रतिमाको संरक्षणका लागि स्थानीय सिंहदेवी संरक्षण समिति र समुदायलाई हस्तान्तरण गर्ने तयारी रहेको उनले बताए ।
मूर्ति वरिपरि बिरुवा रोपेर सौन्दर्यकरण गर्ने इच्छा व्यक्त गर्दै उनले पानीको सुविधा नगरपालिकाले व्यवस्था गरेर स्थानीयको श्रमदानबाट पाइप जडान गरिएको र धारा व्यक्तिगत खर्चबाट जडान गरेको पनि उनले सुनाए ।
स्थानीय रामकुमार श्रेष्ठले ऐतिहासिक स्थलमा प्रतिमा स्थापना गरेर उदाहरणीय कार्य गरेको भन्दै समाजसेवी श्रेष्ठको प्रशंसा गरे । प्रसिद्ध धार्मिक स्थल गजुरमुखी मन्दिर जाने बाटो यसैअन्तर्गत भएकाले शिव मूर्ति स्थापनापछि धार्मिक पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ छ ।
३, ४ वटा मन्दिर भएकाले पुजारी राख्नुपर्ने आवश्यकता औँल्याउँदै उनले बिहान बेलुका पाठपूजा गर्न जरुरी रहेको पनि सुनाए । भक्तजनलाई टीका लगाइदिने पुजारी र निवासस्थल कुटीको व्यवस्था गर्नुपर्ने टड्कारो आवश्यकता रहेको सुनाउँदै उनले स्थानीय सरकारबाट हुन्छ भन्ने आशा व्यक्त गरे ।
झापा धुलाबारीका अजय मूर्तिकारले प्रतिमा निर्माण गरेका हुन् । पक्की सिमेन्टबाट तीन महिनाको अवधिमा मूर्तिको निर्माण कार्य सम्पन्न भएको समाजसेवी श्रेष्ठले जानकारी दिए ।