काठमाण्डाैं । आउँदो वर्षका लागि सरकारले बिदाका दिन सार्वजनिक गरिएको छ । गृह मन्त्रालयले विक्रम सम्बत् २०८० सालमा दिइने पर्व बिदासहित दिवसहरूको मिति सार्वजनिक गरेको हो ।
वर्षभरि पर्ने ५२ शनिबारबाहेक अन्य सार्वजनिक बिदाको सूची मन्त्रालयले प्रकाशित गरेको छ । वर्षको पहिलो महिना वैशाखमा शनिबारबाहेक तीन दिन सार्वजनिक बिदा दिइएको छ । १ गते नयाँ वर्ष, १८ गते विश्व मजदुर दिवस र वैशाख २२ गते बुद्ध पूर्णिमाको दिन सार्वजनिक बिदा हुने छ ।
जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिइएको छ भने असारमा कुनै पनि बिदा छैन । भदौ १४ गते रक्षाबन्धन र २० गते श्रीकृष्ण जन्माष्टमीको दिन सार्वजनिक बिदा घोषणा गरिएको छ । मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार असोजमा दुई दिन बिदा छ । असोज ३ गते संविधान दिवस, २८ गते घटस्थापनाको बिदा दिइएको छ । दसैँतिहार पर्ने कात्तिक महिनामा ११ दिन बिदा दिइएको छ ।
कात्तिक ४ देखि ९ गतेसम्म फूलपाती–द्वादशी को बिदा परेको छ । कात्तिक २६ देखि ३० गतेसम्म लक्ष्मी पूजा, म्हपूजा÷नेपाल संवत्÷गोवर्द्धन पूजा र दुई दिन भाइटीकाको बिदा दिइएको छ ।
मंसिर ३ गते छठ पर्वको बिदा छ । पुस ९ गते क्रिसमस डेको र पुस १० गते ज्यापू दिवस÷योमरी पुन्हीको बिदा घोषण गरिएको छ । पुस १५ गते तमु ल्होसार र माघ १ गते माघी पर्व, माघ २७ सोनम ल्होसारको बिदा हुने गृह मन्त्रालयले जनाएको छ ।
यसैगरी फागुन २५ गते महाशिवरात्रि र फागुन २८ गते ग्याल्पो ल्होसारको बिदा परेको छ । नतोके पनि इस्लाम धर्मालम्बीको पर्व इद उल फित्र र बकर इदको बिदा हुने गृह मन्त्रालयको भनाइ छ ।
फागु पूर्णिमाका लागि हिमाल र पहाडका ५६ जिल्लामा चैत ११ र तराईका जिल्लामा चैत १२ गते बिदा दिइएको छ । भदौ ७ गते गौरा पर्व, भदौ १४ गाईजात्राको बिदा घोषणा गरिएको भने सिरुवा पर्वको बिदा धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि हुने जनाइएको छ ।
यसैगरी महिला कर्मचारीका लागि असोज १ गते र असोज २० गते जितिया पर्वको बिदा हुने छ । पुस २७ गते पृथ्वी जयन्ती (राष्ट्रिय एकता) दिवसको बिदा हुने छ । फागुन २ गते वसन्त पञ्चमीको दिन शिक्षण संस्थाका लागि बिदा छ ।
उपत्यकाको हकमा भदौ १४ गते गाईजात्रा, असोज ११ गते इन्द्रजात्रा र भोटोजात्रा तथा चैत २६ गते घोडेजात्राको बिदा हुने छ ।
जनयुद्ध दिवसको विदाले आउँदो साल पनि निरन्तरता पाउने छ । यसै वर्षदेखि सरकारले १ फागुनलाई जनयुद्ध दिवसका रूपमा मनाउन थालेको छ । फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको बिदा हुने छ । कात्तिक २५ गते फाल्गुनन्द जयन्ती, मोहम्मत जयन्ती, मंसिर ११ गतेको गुरु नानक जयन्तीको अवसरमासम्बन्धित धर्मालम्बीलाई मात्र बिदा मिल्ने छ ।
सरकारले केही बिदा कटौती पनि गरेको छ । जेठ २१ गते पर्ने जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस, भदौ २२ गतेको निजामती सेवा दिवस र माघ १६ को शहीद दिवस मनाए पनि सरकारले सार्वजनिक बिदा नदिने भएको छ ।