पाँचथर- हिउँदमा पानी नपरेकाले फागुनमा पूर्वी पहाडका बस्तीहरू खरेडी लागेझैँ देखिएका छन् । औलका जंगलहरू आगोले भेट्नैबित्तिकै सखाप हुने गरी सुकेका छन् । पछिल्ला दिनमा जंगलमा दैनिकजसो आगलागी भएको भेटिन्छ । जंगलमा लागेको आगो गाउँ पस्दा सखाप हुने स्थिति छ । विभिन्न ठाउँका घरमा आगलागी भएर जनधनको क्षति भइरहेको छ ।
पाँचथरको हिलिहाङ गाउँपालिका– ७ मा बालविकास केन्द्रबाट फर्किएर खाजा खाएर निस्किएका दुई बालकको छिमेकीको घरमा आगलागी हुँदा मृत्यु भयो । शुक्रबार साँझ ५ वर्षीय सेसेहाङ पन्थाक र ४ वर्षीय निशान खातीको मृत्यु भयो । घर आगलागी भएर निकै जलेपछि मात्र गाउँले थाहा पाएकाले छिमेकी कुलप्रसाद पन्दाकले निभाउन गरेको प्रयास सम्भव भएन ।
पाँचथरमा चालु आर्थिक वर्षको ८ महिनामा आगालागीमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । पुसमा फिदिम- ८ को मेखबहादुर गुरुङको घरमा आगलागी हुँदा बुहारी २३ वर्षीया आसाङसिङ थेबे र छोरी २२ वर्षीया ममता गुरुङको मृत्यु भएको थियो ।
यो हिउँदमा पानी नपरेकाले बस्तीहरू सुक्खा छन् । खडेरी लागेसँगै आगलागीका घटना बढ्न थालेका छन् । शुक्रबार मात्र तेह्रथुमको आठराईको हात्तीखर्कको जंगलमा लागेको आगो गाउँ पस्यो । आगलागीका कारण कतै एउटा घर त कतै बस्ती नै सखाप हुने गरेको छ । पाँचथर सदरमुकाम फिदिम, राँके बजार, च्याङ्पु, ताप्लेजुङ सदरमुकाम फुङलिङ, दोभान, तेह्रथुम सदरमुकाम म्याङलुङलगायतका शहर तथा बजारमा विगतमा आगलागीले ठूलो क्षति पुर्याएको थियो । पूर्वी पहाडका धेरै शहर तथा बजारले ठूला-ठूला आगलागी व्यहोरेका छन् । ग्रामीण बजारहरूमा काठका घरहरू जोखिमपूर्ण छन् भने गाउँमा खरका छाना भएका घरहरू पनि उत्तिकै जोखिमपूर्ण अवस्थामा छन् । आगलागी भइहाले नियन्त्रणमा लिने साधन पर्याप्त नहुँदा थप समस्या हुने गरेको छ ।
‘आगलागी नियन्त्रणमा भौगोलिक विकटता तथा आफैँलाई जोखिम पर्ने अवस्थासमेत आउने गरेको छ । विभिन्न ठाउँमा गएर आगलागीबाट सचेतना जगाउने काम गरेका छौँ । जंगलका छेउछाउका घरहरू जोखिममा छन्,’ जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डीएसपी राजन चापागाईं भन्छन्, ‘सुक्खा ठाउँमा आगो फैलिने बढी जोखिम छ । खेतबारी, खरबारीमा घाँस आउने आसमा आगो लगाउने, माछा मार्ने क्रममा चुरोटका ठुटाहरू फाल्ने, यसै जंगलमा आगो लगाइदिने गर्दा पनि समस्या हुने गरेको छ ।’
आगलागीको तथ्याङ्कले जोखिम निकै भएको देखाउँछ । प्रहरीले राखेको तथ्याङ्कअनुसार पाँचथर, तेह्रथुम, ताप्लेजुङजस्ता पूर्वी पहाडका जिल्लाहरू आगलागीको जोखिममा छन् । प्रहरीका अनुसार पाँचथरमा पछिल्लो तीन आर्थिक वर्षमा १ सय ४१ वटा आगलागीका घटना भएका छन् । यी घटनामा ६ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षमा नै २९ वटा आगलागीका घटना भएका छन् । शुक्रबार भएको घटनाबाहेक तेह्रथुममा पछिल्लो तीन आर्थिक वर्षमा ७७ वटा आगलागीका घटना भएका छन् । यीमध्ये चालु आर्थिक वर्षमा तेह्रथुममा १२ वटा घटना भइसकेका छन् । ताप्लेजुङमा पछिल्ला तीन आर्थिक वर्षमा ९७ वटा आगलागीका घटना भएका छन् । चालु आर्थिक वर्षमा यस जिल्लामा १९ वटा आगलागीका घटना भएका छन् ।
पहाडमा खरको छानो भएका घरहरू बढी जोखिममा छन् । पानीको अभाव भएका सुक्खा क्षेत्रहरू आगलागीको जोखिममा छन् । ‘सुक्खा क्षेत्र, बुट्यान धेर भएका ठाउँमा रहेका फुसका छाना भएका घरहरू बढी जोखिममा छन्,’ तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम भन्छन्, ‘फुसका छाना भएका घरमा जस्तापाता दिएर आगलागीबाट बचाउन सकिन्छ कि भन्ने सोचेका छौँ ।’
आगलागी नियन्त्रणको प्रभाकारी व्यस्थापन छैन । पानीको अभाव हुने ठाउँहरू धेरै छन् । सदरमुकाम र बजारमा रहेका दमकल ग्रामिण क्षेत्रसम्म पुग्न निकै कठिन छ । आगलागी नियन्त्रणका लागि स्थानीय तहहरूले प्रभावकारी कदम चाल्न सकिरहेको देखिँदैन । प्रभावकारी पूर्वतयारी नहुँदा बर्सेनि ठूलो क्षति व्यहोर्नुपरिरहेको छ । पहाडका ग्रामीण बजारमा काठका घर धेरै हुनका साथै साँघुरा छन् । जंगलछेउमा फुसका छाना भएका घरहरू छन् । आगलागी न्यूनीकरण तथा नियन्त्रणका लागि फितलो पूर्वतयारी छ ।
आगलागीको जोखिम न्यूनीकरणका लागि सक्दो प्रयास गरिएको सरकारी निकायको दाबी छ । ‘घटना भएको खबर प्राप्त हुनसाथ क्षति कम गर्नका लागि योजना बनाएका छौँ । सम्भावित आगलागीका घटना हुने ठाउँमा कम पानी लैजान पोखरी निर्माण, अग्नि रेखा बनाउने तथा जनचेतना जगाउने काम गरेका छौँ,’ पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरे भन्छन्, ‘घटनास्थल पुगेरै राहत दिने प्रबन्ध गरेका छौँ । लगत संकलन गरेर विपद् व्यस्थापन समितिमार्फत विपद् प्राधिकरणबाट पठाएर पुनः निर्माणका लागि पहल गरेका छौँ ।’