विराटनगर । प्रदेशसभाको तेस्रो बैठक आज बिहान ११ बजे बस्दै छ । प्रदेशसभा बैठकले प्रदेश सभामुखमा माओवादी केन्द्रका प्रदेश सांसद बाबुराम गौतमलाई निर्विरोध निर्वाचित गर्ने भएको छ ।प्रदेशसभा नियमावली २०७४ अनुसार सभामुख र उपसभामुखको निर्वाचन छुट्टाछुट्टै हुनेछ । पहिले सभामुखको निर्वाचन भएपछि मात्रै उपसभामुखको निर्वाचन हुने व्यवस्था छ । प्रदेशसभा नियमावलीको नियम ७ को उपनियम (१) मा सभामुखको निर्वाचन संविधानको धारा १८२ को परिधिभित्र रहने गरी तोकिएको दिनमा हुनेछ र त्यसको सूचना सचिवले प्रकाशन गर्ने व्यवस्था छ ।
प्रदेशसभा नियमावलीको नियम ७ को उपनियम (२) मा उपनियम (१) बमोजिम प्रकाशित कार्यक्रममा निर्धारित समयभित्र कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा एक जना सदस्यको समर्थनसहित अनुसूची १ बमोजिमको ढाँचामा सोको सूचना सचिवलाई दिनुपर्ने व्यवस्था छ । उक्त नियमावलीको नियम ७ को उपनियम (३) मा उपनियम (२) बमोजिमको प्रस्तावको सूचना प्रस्तावक सदस्यले बैठकमा प्रस्तुत गरेपछि समर्थक सदस्यले समर्थन गर्नेछ । त्यस्तो प्रस्तावको सूचना एउटा मात्र प्राप्त भएमा समर्थक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था छ ।
लिखु गाउँपालिका–८ घर भइ ओखलढुंगा १(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित ४९ वर्षीय गौतमको प्रदेश सभामुखमा एकल उम्मेदवारी दर्ता भएको छ । प्रविणता प्रमाण पत्र तह उतिर्ण गरेका उनी माओवादी पार्टीको विद्यार्थी राजनीति हुँदै पार्टीमा केन्द्रीय सदस्य छन् । प्रदेशसभा सदस्यमा निर्वाचित भएर पहिलो संसदीय अभ्यासमा नै उनी सभामुख बन्ने अबसर प्राप्त गरेका हुन् ।