काठमाडौं । सरकारले आगामी दुई वर्षमा सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने घोषणा गरिसकेको छ । बजेटमार्फत २०७९/०८० भित्र २० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने घोषणा गरिएको थियो ।
यसका लागि सरकारले राष्ट्रिय अभियानकै रुपमा कार्यक्रम अगाडि बढाएको छ । राष्ट्रिय परिचयपत्रमा फोटो सहितका व्यक्तिगत विवरण मात्र नभएर औँठा छाप, आँखाको रेटिना जस्ता बायोमेट्रिक सूचना समेत सङ्कलन गर्ने गरिएको छ ।
राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा अपनाउनुपर्ने नियमहरू भने केही रोचक नियमहरू छन् । जसमा महिलाको हकमा अनुहारमा आवश्यकताभन्दा बढी मेकअप भए मुख धुन लगाउने उल्लेख छ ।
यस क्रममा टिका हटाउने, काजल पुछ्ने, लिपिस्टिक पुछ्ने, कानको झुम्का हटाउने, नाकको फुली ठूलो भएमा हटाउन लगाउने र धेरै मालाहरू भएमा त्यो पनि हटाउन लगाउने भनिएको छ । यति मात्र होइन, चश्मा निकाल्ने र कपाल कालै हुनुपर्ने शर्त पनि छ ।
त्यस्तै पुरुषहरूका लागि उल्लेखित नियमहरूमा कानमा मुद्रा वा टप लगाएको भए खोल्न लगाउने, कपाल कालो बाहेक अन्य रङ्गको भए ढाका टोपी लगाउने र मफ्लर, गम्छा लगाउन नपाउने उल्लेख छ ।