काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले भित्र माओवादी विउ छाडेको बताएपछि राजनीतिक बृत्तमा तरंग भएको छ ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले भित्रका हजारौं नेता–कार्यकर्तालाई एकीकृत गरेर लैजान सकिने अनुभव उनले सुनाएका थिए ।
‘एमाले भित्रका पनि हजारौं नेता–कार्यकर्तालाई एकीकृत गरेर लान सकिने रहेछ,’ प्रचण्डले भनेका थिए,‘तपाईंहरुलाई लाग्दो हो सकिनेरैनछ । सक्कियो, विग्रियो नि त भन्ने लाग्न सक्छ । तर, त्यहाँ बिउ रोपिएको छ । हामी माओवादीले बिउ रोपेर आएका छौं । हेर्नुहोला केही समयपछि त्यो फूल्छ, फल्छ ।’
प्रचण्डले सार्वजनिक रुपमै एमाले भित्र बिउ रोपिएको प्रसंग उठाएपछि ती बिउहरुको खोजी हुन थालेको छ ।प्रचण्डले भनेको बिउ घनश्याम भुषाल, भिम रावलहरु हुन् वा माओवादी केन्द्रकै पुरानो बिउ भन्ने प्रश्न उठेको छ ।माओवादीको असली बिऊको एमालेकरण की एमालेको माओवादी करण ?
सर्वोच्च अदालतको फैसलापछि विभाजित भएको तत्कालिन नेपाल कम्युनिस्ट पार्टीका केही पूर्व माओवादी नेता एमालेमै छन् ।तत्कालिन नेकपा माओवादी केन्द्रका महासचिव समेत रहेका राम बहादुर थापा बादल, स्थायी समिति सदस्य लेखराज भट्ट, मणि थापा र प्रभु शाह लगायत नेताहरु एमालेमै छन् ।
यतिसम्मकी तत्कालिन एमाले विरुद्ध खरो रुपमा प्रस्तुत हुने पूर्वसांसद बालकृष्ण ढुंगेल समेत एमालेमै छन् । अदालतको फैसलापछि नेकपा माओवादी केन्द्र र नेकपा एमाले अलग अलग दलको रुपमा स्थापित भएका थिए । एमाले भित्रको असन्तुष्ट समुहले नेकपा एकीकृत समाजवादी नामक दल बनाएर संसद र सरकार दुवैमा छ । त्यहाँ पूर्व माओवादीका कुनै पनि नेता कार्यकर्ता छैनन् । तर, नेकपा एमालेमा भने राम बहादुर थापा बादलको नेतृत्वमा ठूलो समुह छ ।
नेकपाको सरकार रहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको कोटाबाट गृहमन्त्री बनेका ‘बादल’ विभाजनको दिनसम्म मौन थिए । बादल मौन रहेपनि माओवादी नेता कार्यकर्तामा भने उनी माओवादीमै फर्कने विश्वास थियो । तर, नेकपा एमालेले राजधानीको दरबारमार्गमा गरेको जनसभामा बादल उपस्थित भए । दरबारमार्गबाट माओवादी केन्द्रका अध्यक्ष लगायत नेतालाई चिडिया घरमा राख्नेसम्मको अभिव्यक्ति दिए । हाल नेकपा एमालेको उपाध्यक्ष रहेपनि उनी बरियतामा निकै तल छन् । यसअघि ईश्वर पोखरेल भन्दा सिनियर हैसियत दाबी गरेका उनी यतिबेला हैसियतविहिन ‘उपाध्यक्ष’को रुपमा छन् । जनयुद्धको राप र तापबाट स्थापित भएका बादललाई एमालेका कार्यकर्ताले क्षणिक नेतृत्वमा विश्वास गरेपनि कालान्तरमा गर्ने छैनन् भन्ने कुरा एमालेको नाटकीय महाधिवेशनमै देखियो । उनले अन्य नेता भन्दा निकै कम मत पाएका थिए ।
हाल बादल एमालेमा रहेपनि माओवादी बिउ भने पक्कै हुन् । प्रचण्डको संकेत बादल समुहलाई पनि हो की भन्ने एमाले कार्यकर्ताकै आशंका छ । एमाले भित्र बादल समुहका रुपमा लेखराज भट्ट, मणि थापा र प्रभु साहहरुलाई लिइन्छ । उनीहरु सबै माओवादी पृष्ठभूमिका नेता हुन् । उनीहरु एमाले बनेपछि माओवादीको एमालेकरण भएको एमाले नेताको विश्लेषण छ । उनीहरुले एमालेलाई माओवादीकरण गरे भने प्रचण्डले भनेको बिउको सार्थकता हुनेछ । तर, एमालेकरण भएका नेताहरुको रवैयाहेर्दा त्यसको आशा गर्ने ठाउँ छैन । किन भने उनीहरुले एमालेकै नेताहरु भिम रावल र घनश्याम भुषालले जति नेतृत्वप्रति प्रश्न गर्ने आँट समेत गर्न सकेका छैनन् ।
हाइब्रिड बिउको खोजीमा घनश्याम भुसाल
प्रचण्डको भनाई सार्वजनिक भएलगत्तै एमाले नेता घनश्याम भुसालले ती बिउहरुले केही काम नगर्ने जवाफ दिइसकेका छन् । ‘आज प्रचण्डले कहीँ भन्नुभएछ हामीले एमालेमा बिउ रोपेका छौँ । हेर्नुहोला २÷३ वर्षमा फूल्छ फल्छ भनेर । त्यो एउटा खास धारालाई संगठित गर्नका लागि, त्यसलाई उत्साहित गर्नका लागि जे भन्नु भएको छ । त्यसलाई सम्मानै गर्नुपर्छ,’ भुसालले भनेका छन्,‘तर, आजको आवश्यकतालाई उहाँले पनि अझै राम्ररी बुझ्नु भएन । माओवादीको बिउ, एमालेको बिउ, समाजवादीको बिउ, कमरेड सिपीको बिउ र कमरेड फलानाको बिउहरु उम्रँदैनन् । यी न उम्रने बिउहरु हुन् । रैथाने बिउहरु परापुर्वकालका बिउहरु राख्ने हो । तीनिहरुले नै आजको आवश्यकता पुरा गर्न सक्दैनन् । त्यसलाई हाइब्रिड बनाउनसपर्छ । र, अझ धेरै उत्पादन गर्ने बिउ बनाउनुपर्छ ।’
प्रचण्डको अभिव्यक्तिलाई एमाले नेतालाई पीर !
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अभिव्यक्तिपछि एमालेकै नेता विष्णु रिजालले सामाजिक संजालबाटै प्रतिरोध गरेका छन् । यहाँसम्मकी उनले प्रचण्ड एमाले नेता कार्यकर्ता र घुटुघुटु थुक निलिरहेको समेत बताएका छन् ।
‘प्रचण्डका अभिव्यक्तिहरुबाट मैले निकालेको निष्कर्ष हो– माओवादी पार्टीको कुनै भविष्य छैन भन्नेमा उहाँ स्पष्ट हुनुहुन्छ । त्यही भएर उहाँ चुनावमा कहिले एमालेसँग टाँसिनुहुन्छ, कहिले कांग्रेसको साहरा खोज्नुहुन्छ,’ रिजाल भन्छन्,‘एमालेका नेता–कार्यकर्तामाथि आँखा लगाउनु भनेको आफ्ना नेता–कार्यकर्ताबाट पार लाग्न सम्भव छैन भनेरै हो । हामीले दोस्रो अध्यक्ष भए पनि मानेकै थियौँ, ठूल्ठूला कार्यक्रममा भाषण गर्न पाउनुभएकै थियो । तपाईंलाई कुन बैरीले उचाल्यो र अहिले एमालेका नेता–कार्यकर्ता हेरेर घुटुघुटु थुक निलिरहनुभएको छ ?’