धनकुटा ।धनकुटामा नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन्।धनकुटाको महालक्ष्मी नगरपालिका ४ की ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सोही स्थानका ७६ वर्षीय विर्खबहादुर पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका वृद्ध पञ्चायतकालमा तत्कालीन चानुवा गाउँपञ्चायतका उपप्रधानपञ्चसमेत हुन्। विद्यालयबाट घर फर्कँदै गरेकी बालिकालाई गएको शुक्रबार दिउँसो पौडेलले बाटोमै यौन दुर्व्यवहार गरेका अभिभावकको आरोप छ। घटना भएको चार दिनपछि मात्रै बालिकाले अभिभावकलाई जानकारी गराएपछि यौन दुर्व्यवहारको घटना सार्वजनिक भएको हो।
प्रहरीका अनुसार चार जना बालबालिका विद्यालयबाट सँगै घर फर्किंदै गर्दा पौडेलले तीन जनालाई पानी लिन पठाएर एक बालिकालाई मात्रै साथमै राखेर यौन दुर्व्यवहार गरेका थिए।