फिदिम । आगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचनका लागि पाँचथर जिल्लामा ९ सय १६ जना म्यादी प्रहरीको दर्खास्त खुलेको हो । सरकारले निर्वाचनकालागी म्यादी दर्खास्त खुलाएसँगै पाँचथरमा २ हजार ५ सय ६३ जनाले आबेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरमा १७ बर्ष देखि ५४ बर्ष सम्मकाको आबेदन थियो । युवा युवती देखि गृहणी र कपाल पाकेकाहरुको घुइँचो देखिन्थ्यो । दैनिक सयौको संख्यामा आबेदन दिन आएका थिए ।
आबेदन दिन आउनेमा पुर्व सुरक्षाकर्मी, बैदेशिक रोजगारीका क्रममा सुरक्षा कर्मिकै रुपमा कार्यरत र पुर्व म्यादी र नेपाल सुरक्षा निकायकै शारीरीक परीक्षा दिएर बसेकाहरु रहेको जिल्ला प्रहरी कार्यलय प्रमुख राकेश थापाले जानकारी दिएका छन् ।
२ हजार ५ सय ६३ मा पुरुष २ हजार ७८ र महिला ४८५ ले आबेदन दिएका हुन् । आबेदन दिएकाहरुको आजबाट छनौट प्रकृया शुरुभएको थापाले बताएका छन् । थापाले भने ’ प्रहरी प्रधान कार्यालयद्वारा स्थानिय तह निर्वाचनका लागि म्यादी प्रहरी भर्ना, छनौट, नियुक्ति तथा परिचालन सम्बन्धि मापदण्ड – २०७८ को बुँदा नम्बर ५.३मा व्यबस्था भए बमोजिम नै स्वास्थ्य परिक्षण, शारिरिक तन्दुरुस्ती परीक्षा, लिखित र मौखिक परीक्षा पछिमात्र छनौट गरिने छ ।’
देशैभरी एक लाख म्यादी प्रहरीमा भर्ना हुन पाउने छन् । जस्मा प्रदेश नम्बर १ भरिमा मात्र मोरङमा ३ हजार २७, सुनसरीमा २ हजार १ सय ४३, इलाममा १ हजार १ सय ९, पाँचथरमा ९ सय १६, उदयपुरमा ९ सय ५, ओखढुङ्गामा ५ सय ७९, ताप्लेजुङमा ६ सय ४७, तेह्रथुममा ३ सय ९९, भोजपुरमा ७ सय ४९, धनकुटामा ८ सय ६१, सोलुखुम्बुमा ७ सय ९९, सङ्खुवासभामा ९ सय ४४ र खोटाङमा १ हजार १ सय ४७ गरी जम्मा १७ हजार ८ सय ३१ जना म्यादी प्रहरीमा भर्ना हुन पाउने छन् ।