पाँचथर । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाँचथरमा ८ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालय पाँचथरका अनुसार राष्ट्रिय मान्यता प्राप्त ६ दलबाहेक ८ दलले निर्वाचनका लागि चिन्ह लिन आयोगमा दल दर्ता गराएका हुन् ।
निर्वाचन आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिन्ह लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिन समय दिएको थियो । आयोगले तोकेको समयमा पाँचथरमा क्रियाशील रहेका ८ दलले आफ्नै निर्वाचन चिन्हका लागि विवरण बुझाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय पाँचथरका प्रमुख कुमार प्रसाद भट्टराई अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले ८ दलले चिन्हका लागि विवरण बुझाएका हुन् । उनीहरुको विवरण निर्वाचन आयोगमा पठाइएको उनले बताए ।
दल दर्ता गराउनेमा मंगोल नेशनल अर्गनाइजेसन,राप्रपा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, संघिय लिम्बूवान मञ्च नेपाल, खम्बुवान राष्ट्रिय मोर्चा,राष्ट्रिय प्रजातन्त्र पार्टि, जनसमाजवादी पार्टी,नेपाल, नेपाल कम्युनिष्ट पार्टी माक्सवादी लेलीनवादी रहेका छन् ।
निर्वाचन कार्यालयका अनुसार स्थानीय तह निर्वाचन कार्यक्रमको तयारी तिब्र बनाइएको छ । सदरमुकाममा प्रमुख निर्वाचन अधिकृतको कार्यालय रहने छ भने अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालय रहने छ ।
हेर्नुहाेस पाँचथरमा दर्ता भएका दलहरु