सरला रेग्मी,
पाँचथर । संघीयता पछिको स्थानिय तहको निर्वाचनमा अधिकाश स्थानिय सरकारमा उपप्रमुख महिला छन् । नेपालको संविधान तथा स्थानीय तह कार्य सञ्चालन ऐनले प्रमुख या उपप्रमुख मध्ये एक महिला हुनै पर्ने तोकेको भए पनि उपाध्यक्ष या उपप्रमुख पद महिलाकै लागि बनेर आएको जस्तो देखिन्छ । संविधानमा यो उल्लेख छ कि उपाध्यक्ष या उपप्रमुखले न्यायिक समितिको संयोजक रहने व्यबस्था गरेको छ ।
स्थानिय तहमा उपको भुमिका न्यायिक समिती हेर्ने मात्र नभएर बजेट बिनियोजन देखि प्रमुखको अनुपस्थिमा कार्यबाहक को भुमिका समेत निभाएका छन् । स्थानिय निर्वाचनको तिथि नजिकिदै गर्दा पार्टि छलफलमा महिलालाई कहाँ राख्ने भन्ने चासो बढ्दै गएको देखिन्छ । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पाँचथर जिल्लामा साविकका आरुवोटे, कुरुम्बा, दुर्दिम्बा, सराङडाडा, रवि र लिम्बा गाउँ विकास समितिहरूलाई समेटेर मिक्लाजुङ गाउँपालिका बनाइएको हो । पाँचथर जिल्लाको दक्षिणी भागमा पर्ने मिक्लाजुङ गाउँपालिकाकी उपप्रमुख उर्मिला राईसँग स्थानिय तहको निर्वाचनमा तयारी के छ भन्ने बिषयमा केन्जो खबर डटकमले गरेको कुराकानी –ः
उपाध्यक्षमा निर्वाचित भए पछि तपाँइले मिक्लाजुङ गाउँपालिकामा के के काम गर्नु भयो ?
चुनाब जितेपछी उपाध्यक्ष पद सम्हालेपछी यी पाँच बर्ष भित्रमा मिक्लाजुङ गाउँपालिकाले जनताको जीवन स्तर उकास्ने काम गरेको छ । न्यायिक कार्यबिधी बनाएर काम गरेका छौ । सात सय बढी उपभोक्ता समिती निर्माण गरेर बिकासका काम गरेका छौ । कृषिका लागि प्रोत्साहन कार्यक्रम गरेका छौं । बिद्यालय सुधारकालागी भवनहरुलाई व्यवस्थापन गर्ने काम भएका छन् । वडा वडामा मेलमिलाप केन्द्र व्यबस्था गरेका छौ । पर्यटकीय बिकासका लागि काम भैरहेको छ । पहिरो प्रभावित क्षेत्रमा अनुगमन गर्दै अनुदानको व्यबस्था गर्ने काम भैरहेको छ ।
अध्यक्ष र पार्टिबाट कस्तो सहयोग पाउनु भयो ?
पार्टिले सहयोग गरेको छ तर अध्यक्षबाट पटक्कै सहयोग छैन । वहाँले काम गर्दा भन्नू नै हुन्न मैले कुनै काम गर्न लाग्दा सहमती दिन वहाँलाई कठिन हुन्छ ।
जस्ले गर्दा कति काम गर्न चाहादा पनि हुन सकेको छैन ।
यो अवधिमा समस्याहरु के के रहयो ?
समस्या पहिला केही बर्षमा भए । नयाँ काम गर्न थाल्दै गर्दा कोरोनाले माहोल बिगार्यो । पछि बाढी र पहिरोले अलि हैरान दियो । यी त भैहाले सबै भन्दा ठूलो समस्या चै अध्यक्ष र उपाध्यक्ष बिचको समन्वयमा रह्यो ।
यो अवधिमा के के गर्न सकिन जस्तो लाग्छ ?
गर्ने काम थुपै छन् गर्न पनि सकिने रहेछ । मिक्लाजुङ गाउँपालिकाले जनताले महसुस हुने गरि नै काम हरेका छौं । तर अचानक आइलागेका बिपत्तिले योजना भन्दा पर जानू पर्ने बाध्यता हुदो रहेछ । समग्रमा बिकास र जीवन स्तर उकास्ने काम गर्न सकिने रहेछ ।
यो अवधिमा कर्मचारीहरुको सहयोग कस्तो पाउनु भयो ?
कर्मचारीको सहयोग बिना त काम गर्न कठिन हुन्छ । कर्मचारीको सहयोग हुदैन थियो त जतिपनी गाउँपालिकाले गर्ने काम छन् ती प्रभावित हुन्थे । जति काम भए कर्मचारीको सहयोग मै भए ।
स्थानिय तहको निर्वाचन नजिकिदै छ । तपाईंको तयारी के छ ?
अबको मेरो तयारी भनेको प्रमुख नै हो । पार्टिमा कुरा राखेको छु । अरु साथिहरुपनी हुनुहुन्छ । वहाँहरुलाई पनि अटाउनुपर्छ । को को कहाँ जाने सल्लाह भएको छैन । तर मैले उपाध्यक्ष हुँदा गाउँ गाउँ हिडेको छु । जनताकै पक्षमा काम गरेको छु । मैले पाएको जिम्मेवारी उपाध्यक्ष पदमा बसेर निभाएको जस्तो लाग्छ । आशा गरेको छु कि आठै वटा वडाका साथिहरुले त्यस्को मुल्यांकन गर्नु हुनेछ र मलाई बिश्वास छ कि पाँचबर्ष मैले गरेको संघर्ष देखेर मलाई प्रमुख स्विकार्नु हुनेछ ।