तर, प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा भने गठबन्धनलाई साथमै लिएर अघि बढ्न चाहन्छन् ।यो बीचमा प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग निरन्तर छलफल गरिरहेका छन् ।
केही समय पहिले त उनले कांग्रेस नेताहरुलाई गठबन्धनका नेताहरुको मन दुखाउनेगरि नबोल्नसमेत निर्देशन दिएका थिए ।उता, प्रचण्डको गृहजिल्ला चितवनमा पनि चुनावी तालमेलको गृहकार्य सुरु भएको छ ।कांग्रेसले संघको निर्वाचनमा प्रचण्डलाई सघाउने वचन दिएको छ ।तर, स्थानीय तहको निर्वाचनमा भने भरतपुर महानगरपालिकाको नेतृत्व कांग्रेसलाई दिनुपर्ने शर्त राखेका छन् ।अहिले भरतपुरको मेयरमा रेनु दाहाल छिन् ।
उनी पूनः मेयरमा उठ्ने चर्चा भएको छ ।कांग्रेस चितवनको सभापति राजेश्वर खनालले भरतपुरको मेयरमा कांग्रेसले लिने र संघको निर्वाचनमा प्रचण्डलाई सघाउनेगरि छलफल चलेको बताएका छन् ।केन्द्रीय तहबाट पनि चितवनमा माओवादी केन्द्रसँग चुनावी गठबन्धन गर्नेबारे छलफल सुरु भएको जनाईएको छ ।
भरतपुरको मेयरमा रेनुलाई उठाईए जित्न मुश्किल रहेको चितवन कांग्रेसको बुझाई छ ।बरु, मेयर कांग्रेसले लिने र उपमेयर माओवादीलाई दिनेगरि चुनावी तालमेलमा जान सकिने उनीहरुको भनाई छ ।संघको चुनावमा भने कांग्रेसले प्रचण्डलाई सघाउने वचन दिएको छ ।उता, रेनुले भने कुनैपनि हालतमा आफू नै मेयरमा उठ्ने भन्दै तयारी गरेकी छिन् ।