पाँचथर । पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार (आज) फागु पूर्णिमा अर्थात होली पर्व मनाइँदै छ। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ।
आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रंङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लासका साथ मनाइने गरिन्छ।
किम्बदन्ती अनुसार त्रेता युगमा नास्तिक हिरण्यकश्यप नामका क्रुर राक्षस थिए। उनी नास्तिक भएका कारण भगवानको लिलामा विश्वास गर्दैनथे। उनको प्रह्लाद नामक छोरा थिए, जो भगवान विष्णुको परम भक्त थिए।
हिरण्यकश्यप आफूले आफूलाई बलवान ठान्दथे। तर, उनका पुत्र उनको आराधना नगरी विष्णु भगवानको आराधना गर्दथे। त्यो कुरा उनले सहन गर्न सकेनन् जसकारण आफ्नै पुत्रलाई मार्न तयार भए । अन्तत: उनको योजनाअनुरुप हिरण्यकश्यपले पुत्रलाई अग्निकुण्डमा राखेर मार्नको निम्ति अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई काखमा राखेर अग्नि कुण्डमा बसाए। तर, अग्निमा बस्दा पनि विष्णु भगवानको प्रार्थना गरेर बसेका प्रह्लादलाई अग्निले भष्म गरेन। उल्टै होलीका भने भस्म भइन्।
अन्तमा हिरण्यकश्यपलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए। होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अबिर लगाएर होली पर्व मनाउने परम्परा परापूर्वक कालदेखि चलिआएको धार्मिक मान्यता छ।
बिहीबार पहाड तथा हिमाली क्षेत्रमा मनाइने फागु पूर्णिमा शुक्रबार तराईमा होलीको रुपमा मनाइँदै छ।