पाँचथर ।मिक्लाजुङमा नेपाली कांग्रेसले वडा अधिवेशन नगरी पालिका कार्यसमितिमा सभापति चयन गरेपछि सामाजिक सञ्जालमा यो विषय चर्चा केन्द्रबिन्दु बनेको छ।
शनिबार बसेको गाउँपालिका बैठकले उपसभापति गणेश वाजीलाई सर्वसम्मत सभापति चयन गरेको निर्णय गरेको थियो। जिल्ला सभापति रूपनारायण जबेगु लगायत नेताहरूले फेसबुकमा बधाई दिएका छन्। तर, कार्यकर्तामाझ प्रश्न उठेको छ। “वडा अधिवेशन नहुँदा कसरी पालिका अधिवेशन भयो?”
मिक्लाजुङका सभापति सन्तकुमार शेर्माले भने, ६ जना आकांक्षीमध्ये गणेश वाजी सर्वसम्मत भए पनि अधिवेशन प्रक्रिया अझै बाँकी रहेको बताएका छन्। उनले फेसबुकमा नहाल्ने सहमति भए पनि जिल्लाबाटै बधाई आएकोले अप्ठ्यारो भएको र प्रक्रिया अझै बाँकी रहेको बताए।
वडा नं. २ का सभापति महेन्द्र थापाले फेसबुकमा प्रतिक्रिया दिँदै औपचारिकता नपुगेको र पालिका समितिको सहमति मात्रै भएको बताएका छन्। उनले भने, “हतारमा बधाई लेख्नु ठीक होइन, यो राम्रो संस्कार होइन।”
केन्द्रीय समितिले पुस १५–२४ सम्म जिल्लाभर विभिन्न तहका अधिवेशन गर्ने तालिका सार्वजनिक गरेको भए पनि अधिवेशन हुने कि नहुने अझै स्पष्ट छैन।





