पाँचथर । किरात समुदायको प्रमुख पर्व चासोकको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको सुम्हालुङ मिनि म्याराथनको आठौँ संस्करण आगामी पुस १२ गते सञ्चालन हुने भएको छ। खेलकुदसँगै धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको यस म्याराथनले पछिल्लो समय जिल्लाको पहिचान र आकर्षण बढाउँदै आएको आयोजकको विश्वास छ।
यस वर्षको प्रतियोगितामा पुरुष र महिला दुवै तर्फ फरक–फरक दूरी र पुरस्कारको व्यवस्था गरिएको छ। पुरुष तर्फ प्रथम हुने धावकलाई ३० हजार रुपैयाँ, दोस्रो हुनेलाई २० हजार रुपैयाँ र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। यस्तै महिला तर्फ प्रथम हुनेलाई १५ हजार रुपैयाँ, दोस्रो हुनेलाई १० हजार रुपैयाँ र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ।
प्रतियोगितामा पुरुष धावकहरूले ९.५ किलोमिटर र महिला धावकहरूले ५.३ किलोमिटर दूरी पार गर्नुपर्नेछ। पुरुष तर्फको दौड सुम्हालुङ मन्दिरबाट सुरु भई क्याम्पस गेट, आहालगैरी, जोरसाल, पल्लोटार बसपार्क, कालुराम ग्यारेज, फिदिम माध्यमिक विद्यालय, ठाडोलाइन, हुलाक लाइन, सरगम होटल ओरालो, नगरपालिका उकालो हुँदै गढी मन्दिरमा पुगेर समापन हुनेछ।
महिला तर्फको दौड पनि सुम्हालुङ मन्दिरबाटै सुरु भई क्याम्पस गेट, आहालगैरी, तुम्देन चोक हुँदै पल्लोटार जाने बाटो, विजयबोध लावतीको घरबाट उकालो, राविसे मन्दिर, नमुना लाइन, तमोर भ्याली गेस्टहाउस, अस्पताल मोड, नगरपालिका उकालो हुँदै गढी मन्दिरमा पुगेर टुंगिनेछ।
आयोजक संस्था सुम्जिरी सुम्हालुङ आम्बेपजका सचिव कमल तावतीका अनुसार म्याराथनको मुख्य उद्देश्य सुम्हालुङ मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्वको प्रचार–प्रसार गर्नु, खेलकुदमार्फत स्थानीय तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु र किरात समुदायसहित विभिन्न जातजातिको मौलिक लोकसंस्कृति संरक्षण तथा प्रवर्द्धन गर्नु रहेको छ। उनले भने, “खेलकुदले युवालाई सकारात्मक दिशातर्फ डोर्याउनुका साथै पर्यटन र संस्कृतिको विकासमा पनि ठूलो भूमिका खेल्छ।”
यसै अवसरमा आयोजना हुने चासोक मेलाको उद्घाटन पुस १० गते गरिनेछ। मेलाको अवधिभर विभिन्न जातजाति र समुदायका सांस्कृतिक झाँकी, झाँक्री नाच, मारुनी नाच, चण्डीनाथ बालन, हाकपारे, ख्याली, पालम, धान नाच, डम्फु नाच, केलाङ लगायतका परम्परागत सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्।
आयोजकका अनुसार चासोक मेला र सुम्हालुङ मिनि म्याराथनले स्थानीय कला, संस्कृति, धर्म र खेलकुदलाई एउटै थलोमा जोड्दै पाँचथरको पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। खेलप्रेमी धावकहरू, पर्यटक तथा सर्वसाधारणलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आयोजकले आग्रह गरेको छ।




