, पाँचथर । पहाडी गाउँ कुरुम्बामा सुन्तलाको मौसमले रंग भरिरहेको छ। अगानै अगाडी लटरम्म फलेका सुन्तलाका पहेलाे रङ्गले बगानभरि छाएको छ। किसानहरू बगानमा व्यस्त छन्, कतिपयले फलेका सुन्तला टिप्दै सहरका बजारमा लग्ने तयारी गरिरहेका छन् ।
व्यवसायीक रूपमा सुन्तला खेती गर्दै आएका उकेश लावतीले मुस्कानसहित भने, “२० रोपनीमा ८ सय बोट सुन्तला लगाएका छौँ। अहिले केही गाडी मात्र बिक्री भएको छ। हामी आफैं सहर लगेर बेच्छौँ। धान खेतीको जग्गामा सुन्तला लगाएका थियौँ। बाजेहरूले पनि रोप्नुभएको थियो। व्यवसायीक खेती थालेको पाँच–सात वर्ष भइसकेको छ।”
कुरुम्बाका सुन्तलाहरू झापाको दमक हुँदै विभिन्न बजारमा पुगेका छन्। वार्ड अध्यक्ष अबिशन लावतीका अनुसार यस वर्ष वडामा ८० टन सुन्तला उत्पादन भएको छ। उनले भने, “अहिलेनै गाउँभरी सुन्तला देख्न सकिन्छ। केही वर्षभित्र यहाँबाट उत्पादन र बिक्री अझै बढ्ने अनुमान छ। म आफैं पनि सुन्तला किसान हुँ। यहाँको मुख्य आम्दानीको स्रोत सुन्तला नै हो। यस वर्ष वडामा वार्षिक बिक्री दुई करोडभन्दा बढी हुने देखिन्छ।”
स्थानीय किसान टिकराम लावतीले भने, “मैले करिब पाँच लाख मूल्यको सुन्तला बेचिसकेको छु। व्यापारीहरू घरमै आउँछन्। खेती विस्तार गर्दैछु। यहाँ सुन्तला खेती फस्टाएको छ।” बगान हेर्दा सुन्तलाका पहेँलपुर फलमा किसानको मुस्कान मिसिएको देखिन्छ। मेहनत र लगनशीलता मात्रले यहाँको कृषिलाई फलदायी बनाएको छ।
कृषि विशेषज्ञहरूले र स्थानीय समुदायले सुझाएका छन् कि सरकारले सुन्तला खेतीका लागि अनुदान, बीउ, मल, प्रशिक्षण र आधुनिक प्रविधि प्रवर्धनका कार्यक्रम ल्याउनु आवश्यक छ। यसले किसानको उत्पादन र आम्दानी मात्र बढाउँदैन, गाउँको समग्र आर्थिक विकासमा समेत योगदान पुर्याउने छ।
कुरुम्बामा फलिएको सुन्तला केवल आम्दानीको स्रोत मात्र नभई गाउँको पहाडी जीवनमा नयाँ आशा र उत्साहको प्रतीक बनेको छ। मेहनत र सरकारी सहयोगको संयोजनले मात्रै यो सफलतालाई अझ व्यापक बनाइने छ।




