पाँचथर– मेची राजमार्गको कान्छीकानदेखि अगाडी बढ्ने हो भने यतिबेला खोल्सी र धारा भएको ठाउँमा मुला धुदैँ, भारी लगाउदै गरेको देख्न पाईन्छ । लेकाली क्षेत्रमा फलेका मुला तराईका बजारमा पुर्याउनका लागि मेहनत भईरहेको हुन्छ ।
राजमार्ग आसपासका पाँचथर र इलामका विभिन्न क्षेत्रमा उत्पादन भएको मुला तराईका विभिन्न बजार पुग्ने गरेको छ । असारदेखि पहाडाका मुला तराई जाने गर्छन् । बाढी पहिरोले केही दिन विक्री रोकिएको मुला तराईका बजार जान थालेपछि व्यस्तता बढ्दै गएको छ । ‘यहाँको मुला झापा, इटहरी हुँदै मधेस प्रदेशसम्म पुग्छ’ व्यवसायी इन्द्र मुखियाले भने ‘असारदेखि मंसिर पहिलो सातासम्म मुला व्यापारको चहलपहल हुन्छ ।’
पाँचथरको फिदिम नगरपालिका, फाल्गुनन्द गाउँपालिका र इलामको इलाम र देउमाई नगरपालिकाका लेकाली क्षेत्रको मुला तराई पुगिरहेको छ । यहाँको मुला स्वादिष्ठ हुने गरेको बताइन्छ । पछिल्ला दशकमानै व्यवसायीक रूपमा मुला खेती हुने गरेको छ । सिजनकाे खेतीको रूपमा मुला खेती गरिने गरिन्छ । अहिले किसानको बारीमा मुलाको मूल्य प्रतीकेजी २० देखि २५ रहेको छ ।
‘६–७ रोपनी जग्गामा मुला खेती लगाएको छु । असारमा मूल्य कमथियो । अहिले बढ्दै गएको छ’ इथुङका किसान गणेश मुखियाले भने ‘आम्दानी राम्रै छ । धेरैले मुला खेती गर्छौ ।’ किसानको आम्दानीको श्रोत मुला भईरहेको छ । प्रायः तराई र भारतबाट पूर्वी पहाडमा तरकारी आउने गर्छ । तर यो क्षेत्रबाट सिजनमा ठुलैमात्रमा मुला तराई पठाईने गरिन्छ । कति मुला फलिरहेको यकिन तथ्याङ्क नभएपनि लेकाली क्षेत्रका धेरै किसानले विक्रीकै लागि मुला खेती गर्ने गरेका छन् । मुलाको मूल्यमा उतारचढाव आईरहन्छ । तराई सिधै व्यापारी किसानसम्म नआइपुग्ने हुदा बिच बिचमा धेरै व्यापारी सक्रिय छन्, यसले किसानले पाउनुपर्ने जति मूल्य पाएको देखिदैन । यसतर्फ सरकारको ध्यान पुग्न आवश्यक छ ।




