इलाम । फाकफोकथुम गाउँपालिकामा पहिलो पटक “फाकफोकथुम ओपन नेशनवाइड क्लासिकल रेटिङ चेस टुर्नामेन्ट–२०८२” आयोजना हुने भएको छ। आगामी २०८२ साल कार्तिक ९ देखि ११ गतेसम्म (२०२५ अक्टोबर २६ देखि २८ तारिखसम्म) फाकफोकथुम गाउँपालिकाको सभाहल, इलाममा आयोजना हुने सो प्रतियोगिता फिडेको कोड नम्बर ४४४३३१ अन्तर्गत सञ्चालन हुनेछ।
देशभरका बुद्धिचाल खेलाडीहरूको सहभागिता रहने उक्त प्रतियोगिताको कुल नगद पुरस्कार रकम दुई लाख पाँच हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ। मुख्य पुरस्कारतर्फ पहिलो स्थान हासिल गर्ने खेलाडीले ३५ हजार रुपैयाँ, दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौँले ७ हजार, छैटौँदेखि दशौँ स्थानमा पर्ने खेलाडीले जनही ५ हजार र ११औंदेखि १३औं स्थानसम्मका खेलाडीले जनही ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
त्यसैगरी, विभिन्न श्रेणीका खेलाडीहरूका लागि छुट्टाछुट्टै पुरस्कार तोकिएका छन्। रेटिङ १८०० भन्दा मुनिका खेलाडी (Elo 1800) का लागि पहिलो पुरस्कार ५ हजार र दोस्रो ४ हजार तोकिएको छ भने रेटिङ १६०० भन्दा मुनिका (Elo 1600) का लागि पहिलो ४ हजार र दोस्रो ३ हजार तोकिएको छ। ज्येष्ठ खेलाडी (Veteran) श्रेणीमा पहिलोले ५ हजार र दोस्रोले ३ हजार, विद्यार्थी (१६ वर्ष मुनि) का लागि पहिलोले ४ हजार र दोस्रोले ३ हजार, महिला खेलाडीका लागि पहिलोले ५ हजार र दोस्रोले ३ हजार तथा अवर्गीकृत (Unrated) खेलाडीका लागि पहिलोले ५ हजार र दोस्रोले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै, क्षेत्रीय तथा स्थानीय श्रेणीमा पनि विशेष पुरस्कार राखिएको छ। पहाडी क्षेत्रका विजेताले ५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्। फाकफोकथुम क्षेत्रका विजेतामध्ये पहिलोले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार रुपैयाँ पुरस्कार पाउने छन्। इलाम क्षेत्रका विजेतामध्ये पहिलोले ५ हजार र दोस्रोले ३ हजार, अपांगता भएका खेलाडी (Differently able) र जनप्रतिनिधि (People’s Representative) दुबै श्रेणीका विजेताले ५ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागी हुन स्थानीय खेलाडीका लागि प्रवेश शुल्क १ हजार रुपैयाँ र अन्य खेलाडीका लागि १ हजार ५ सय रुपैयाँ तोकिएको छ। प्रतियोगिताको निर्देशक गणेश मगर, प्रमुख निर्णायक डम्बर राई र सचिव दीपक घिमिरे रहेका छन्।
प्रतियोगिताको आयोजना फाकफोकथुम बुद्धिचाल संघ, इलामले गर्न लागेको हो भने जिल्ला बुद्धिचाल संघ इलामको प्राविधिक सहयोग रहनेछ।