काठमाडौं। गृह मन्त्रालयले वर्ष २०७९ का लागि शनिवारबाहेक थप ४३ दिन विदा दिने निर्णय गरेकाे छ । मन्त्रालयले बिहीवार राजपत्र प्रकाशित गर्दै वैशाख १ गतेदेखि चैत मसान्तसम्म देशभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिबारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो । सार्वजनिक बिदाको दिन बाहेक वर्षभरिमा ५२ दिन भने शनिबार बिदा हुनेछ ।
बिदा हुने दिनहरूमा २० दिन विभिन्न पर्व बिदा, दुई दिन महिला कर्मचारीका लागि मात्र बिदा, एक दिन शिक्षण संस्थाका लागि विदा, चार दिन काठमाडौं उपत्यकाका लागि मात्र विभिन्न जात्रा बिदा, ६ दिन दशैं विदा पाँच दिन तिहार विदा, पाँच दिन सबैका लागि दिवस विदा तथा एक दिन अपांगता भएका व्यक्तिका लागि मात्र विदा गरेर ६ दिन दिवस बिदा दिइएको छ । यस्तै तीन दिन जन्मजयन्ती बिदा दिइएको छ । जसमा बुद्ध जयन्तीका दिन सबैका लागि विदा भए पनि अरु २ वटा जयन्ती भने सम्बन्धित धर्मावलम्बीका लागि मात्र बिदा दिइएको छ ।
त्यस्तै, गाैरापर्व, महाशिवरात्री र अन्तर्राष्ट्रिय अपांगता दिवस भने शनिवारकाे दिनमा परेका छन् ।
गृह मन्त्रालयले सार्वजनिक विदासँगै पर्व एवम सट्टा विदा तथा कार्यालय समय पनि निर्धारण गरेको छ । मन्त्रालयले आगामी वर्षमा बैशाखदेखि कार्तिक १५ सम्म माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय विहान १० बजेदेखि साँझ ५ बजेसम्म तथा कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय हाजिर हुने र छुट्ने समय तोकेको छ । शुक्रबारेको दिन भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय समय तोकिएको छ ।