सरला रेग्मी,
पाँचथर । मध्य दिउँसो, आगनमा बसेर चकलेटको खोल खेलाउदै थिइन् डम्बर कुमारी तुम्रोक । रातो रंगमा थोरै आकर्षित भएकी डम्बर कुमारी म नजिक आइन, उनको अबस्था हेर्दा असामान्य जस्तै देखिन्थ्यो । नयाँ मान्छेलाई झम्टिन्छिन् भनेको सुन्दा उनी नजिक आउदा डर लाग्यो । हामी अलि पछि सरेर बस्यो ।
जो मान्छेले तपाईलाई सताउछ या दुःख दिन्छ त्यो मान्छेलाइ तपाईं कति समय सम्म झेल्न सक्नु हुन्छ ? असामान्य अबस्थामा केही समय सहानुभुती दिन सकिन्छ, त्यो बाहेक के गर्न सकिन्छ होला ?
पाँचथर फिदिम नगरपालिका वडा नम्बर ६ सिवाकी २४ बर्षिय डम्बरकुमारी बौद्धिक अपाङ्ग भएकि युवती हुन् । उनी जन्मदै बौद्धिक अपाङ्ग भएर जन्मलिएकी हुन् । आर्थिक अभावका कारण उनको उपचार हुन सकेन् । घरमा डम्बरकुमारी र उनकी आमा बुधमाया दुईजना मात्र बस्छन् । श्रीमानको गतबर्षको चैतमा मृत्यु भएको हो । आम्दानीको स्रोत छोरीको अपाङ्ग भएको भत्ता र उनको एकल महिलाको भत्ताले घर चलाउछिन् बुधमाया ।
२४ बर्ष भयो बुधमायाले खाउ खाउ, लाउ लाउ उमेर भएकी मस्त जवान छोरीको रेखदेख गरेको, खाना खुवाएको, नुहाइधुवाइ गरेको यति मात्र होइन ओछ्यानमा गरेको दिसापिसाब सफा गरेको । यति मात्रले पुग्दैन हरेक महिना रजस्वला हुदा रगत सफा गरेकी छिन् बुधमाया तुम्रोकले ।
जवान छोरीलाइ अरु सहर स्कुल पठाउन मन नभएको पनि होइन । दिदिहरुलाई जस्तै ज्वाँइको घर पठाउन मन नभएको पनि होइन बुधमायालाई तर छोरी जन्मदै बौद्धिक अपाङ्ग भएर जन्मिए पछि बुधमायाले के नै गर्न सक्छिन र ?
छोरीको अबस्थाबारे कुरा गर्दै गर्दा बुधमायाका आँखा ओभाउदैनन् । महिनावारी हुदा लगाइदिएको कपडा पनि च्यातेर फाल्छिन डम्बरकुमारी, लगाएको लुगा च्यात्छिन, नजिक कोहि आए चिमोट्छिन, टोक्छिन, भित्री लुगा लगाउन मान्दिनन्, बेला बेला उनको भित्री अंग देखिँदा आमा लुगा अलि तल सारीदिन्छिन् । दुई माउ गाई, बाख्रा, सुँगुर र कुखुरा पालेका छन् । उनी घाँस दाउरा गर्न पनि जानू पर्छ । बुधमाया घाँस काट्न जादा छोरी डम्बर कुमारीलाई घरमै थुनेर जान्छिन । उनी भन्छिन् ‘घर छोडेर हिड्ली अनि बच्चा पाउने होलिकी भन्ने डर लाग्छ ’। छोरिलाई कसैले गर्भ बोकाइदेला कि भन्ने डरले बुधमायाले छोरी डम्बरकुमारीलाई तीन महिने सुई पनि लगाइदिएकी थिइन् ।
स्थानिय सरकार नजिकै छ । तर उनको घाउमा मलमपट्टि लगाउन कोहि आउदैन । अपाङ्गता भएका व्यक्तिको लागि ४१ थरिको निशुल्क औषधि पनि सरकारबाट पाउन सकिन्छ, त्यो बारे न बुधमायालाई थाहा छ न नजिकै करेसामै जोडिएको स्थानिय सरकारले त्यसतर्फ ध्यान दिएको छ । छोरीको छेउमा बसेर सुम्सुम्याउछिन्, आँखा भरी आँसु बनाउदै सरकारलाइ गाली गर्छिन बुधमाया, ‘भत्ता नदिए नदिओस, तर मेरो छोरी निको होस्’ भन्छिन् उनी, । बुधमाया पनि वृद्ध भैसकिन, आफू मरेपछी कस्ले हेरचाह गर्ला भन्दै भक्कानिन्छिन् उनी,।
पहिला डम्बरकुमारीको निलो परिचयपत्र थियो । उनको यो अवस्था देखेर वडा स्तरीय अपाङ्ग संघका अध्यक्ष रोशन सारुले रातो कार्ड बनाउन पहल गरिदिएका हुन् । तर मानसिक उपचारमा कसैले चासो नदिएको देखिन्छ । परिवारमा वृद्ध आमा, आर्थिक अबस्था कमजोर भएकै कारण डम्बर कुमारीले उपचार पाउन सकेकी छैनन् ।
डम्बरकुमारी पनि आमाको छेउमा बसेर बेला बेला म्वाई खान्छिन । आमा प्रती स्नेह छ उनलाई तर मानसिक बिक्षप्त हुदा भने चिथार्न पुग्छिन, टोक्न पुग्छिन् । डम्बरकुमारीले जे गरेपनी बुधमाया सहन्छिन, र हरेक दिन भगवान सँग छोरी निको होस् भन्ने प्रार्थना गर्नु बाहेक उनी सँग अर्को बिकल्प छैन ।