काठमाडौं ।धादिङमा पहिरोमा पुरी बेपत्ता भएका तीन जनाको खोजतलास गर्न थप जनशक्ति परिचालन भएको छ। बिहीबार बिहान करिब साढे ७ बजे रूबीभ्याली गाउँपालिका-१ पुरूमा खसेको पहिरोमा पुरिएकाहरूको खोजी गर्न थप जनशक्ति परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए। शुक्रबार पनि बिहानै देखि बेपत्ता भएकाहरूको खोजी गरिएको उनले बताए।
‘आज बिहान ९ बजेदेखि खोजी कार्य सुरू भएको छ। अझै पनि बेपत्ताहरूको अवस्था अज्ञात छ,’ उनले भने।काभ्रे घर भएका डोजर चालक अन्दाजी २७ वर्षीय आकाश तामाङ, सहचालक राजु तामाङ र साइट हेर्न बसेका सडक निर्माण समितिका स्थानीय अनिष तामाङ बेपत्ता छन्। उनीहरूले सडकको ट्र्याक खनिरहेको अवस्थामा पहिरो खसेको हो। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जम्मा ३६ जना मिलेर खोजी गर्ने काम भइरहेको उनले बताए।
घटना भएपछि नजिकैको प्रहरी चौकीबाट चार घण्टा हिँडेर केही प्रहरीको टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्लाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रहरी निरीक्षकको कमाण्डमा टोली हेलिकप्टरमार्फत् पुगेको थियो। अर्को दुई पटक गरी हेलिकप्टरबाटै सेनाको टोली खटिएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। ‘आआफ्नो स्तरको सामानहरू कुटो-कोदालो, सेनाले आफ्नै सामानहरू बोकेको छ। मेसिनहरू लग्न सक्ने अवस्था छैन,’ उनले भने, ‘त्यो ठाउँमा गाडी पनि जाँदैन। नजिकैको चौकीबाटै हिँडेर चार घण्टा लाग्छ। सदरमुकाम देखि त धेरै टाढा छ त्यसैले सबै हेलिकप्टरबाट गएका हुन्।’
यस्तै बेपत्ताका परिवार पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ।