इलाम । साविक पशुपतिनगर गाविस ३, हाल सूर्योदय नगरपालिका ३ जिलकी १८ वर्षीया रोजिना राईको हत्या गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
युवतीको हत्या आरोपमा पक्राउ पर्नेमा सूर्योदय नगरपालिका ३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राई रहेका छन् । २०५८ माघ ७ गते बिहान हँसियाले घाँटी रेटेर हत्या गरेको अवस्थामा रोजिनाको शव फेला परेको थियो ।
पक्राउ परेका राईले २०५८ माघ ६ गते बेलुका खेताला बोलाउन मृतकी दिदी चमेली राईको घरमा जाने क्रममा छिमेकी गोठमा रहेकी रोजिनालाई जबरजस्ती तानेर लगेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले एक पत्रकार सम्मेलन गर्दै घटनाको सार्वजनिक गरेको हो । त्यसबेला दिदी चमेली राईको घरमा जाने क्रममा छिमेकी भीममाया राईको घरबाट पश्चिम तर्फको बाटोभन्दा केही तल रोजिनाको शव भेटिएको थियो ।
आरोपितले रोजिनालाई लिएर दिदी चमेलीको घरमा जाने क्रममा बाटोबाट लडेर डिलमुनि खसेर रुन थालेपछि म आफू फस्छु भनेर रोजिनाले बोकेकै हंसियाले घाँटी रेटेर हत्या गरेको स्वीकार गरेको उपरीक्षक महेन्द्र श्रेष्ठले बताए ।
प्रहरीले घटनाको मुचुल्का, मिसिल, फोटो अध्ययन शुरु गरेको जनाएको छ । त्यसलाई हेर्दा यौनजन्य क्रियाकलाप हो कि भन्ने पनि शंका रहेको र खुलिनसकेको बताइएको छ ।
घटनाको अनुसन्धान गर्ने क्रममै राईलाई गएको माघ १६ गते पक्राउ गरि अदालतबाट म्याद थप गरि अनुसन्धान शुरु गरिएको इलामका प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।