हेटाैडा । नेकपा एमाले मकवानपुरमा पदाधिकारी र खुला सदस्य सर्वसम्मत निर्वाचित भएको जानकारी गराइएको छ । एमाले मकवानपुरको अध्यक्षमा एकालाल श्रेष्ठ सर्वसम्मत भएको जनाइएको छ ।
तर, पदाधिकारीका प्रतिद्वन्द्वी उम्मेदवारलाई थाहै नदिई जिल्ला कमिटी घोषणा गरेको पाइएको छ । उम्मेदवारहरुले सर्वसहमतिको नाममा गुटको राजनीति गरेको आरोप लगाउँदै असन्तुष्ट पोखेका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार बद्री लम्साल भने अचम्ममा परेका छन् । अध्यक्षमा श्रेष्ठ र लम्सालले दावी नछोडेपछि सहमति हुन नसक्दा शनिवार दिउँसो निर्वाचन प्रक्रिया स्थगित भएको थियो ।
निर्वाचन समितिले आइतबार बिहान ८ बजेदेखि मतदान हुने जानकारी नेता र कार्यकर्तालाई गराएको थियो । तर, आइतबार बिहान हेटौंडा–४, स्थित पार्टी कार्यालयमा नाम पढेर पदाधिकारीको नाम टुंग्याइएको छ । एमाले मकवानपुरको ११ औं अधिवेशनबाट अध्यक्षमा श्रेष्ठसहित उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नवीन सिग्देल, उपसचिव (खुला)मा हिदम लामा र उपसचिव (महिला)मा सिता विष्ट सर्वसम्मत भएको जनाकारी गराइएको हो ।
अध्यक्षका उम्मेदवार लम्साल र श्रेष्ठ अघोषित रुपमा प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए । सहमति नहुने छाँटकाँट देखिएपछि लम्साल र श्रेष्ठले प्यानल नै बनाएर निर्वाचनमा जाने सक्ने तयारी गरेका थिए । लम्सालको प्यानलबाट उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नवीन सिग्देल र उपसचिवमा हिदम लामा र सिता विष्टले उम्मेदवारी दिएका थिए । श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा गोपाल श्रेष्ठ, सचिवमा सुनिल मोक्तान र उपसचिवमा मदन दहाल र पार्वती राना थिए ।
अध्यक्षका अर्का उम्मेदवार लम्सालले घरमै बसेर अध्यक्षमा श्रेष्ठ चुनिएको खबर पाएको बताएका छन् । ‘आइतबार बिहानसम्म अझै सहमतिको प्रयास हुन्छ भन्ने थियो । म घरमै थिएँ, उता अध्यक्ष नै टुंगिएछ,’ लम्सालले भने ।
उम्मेदवारी नै फिर्ता नलिई कसरी सर्वसहमति भयो भन्दै लम्सालले प्रश्न गरेका छन् । ‘मेरो अध्यक्षमा उम्मेदवारी थियो । मलाई कसैले उम्मेदवारी फिर्ता लिन अनुरोध पनि गरेको छैन् । मैले उम्मेदवारी कायमै राखेको छु तर, सर्वसम्मत चाँही कसरी भयो ?,’ उनले भने ।
सर्वसहमतिको नाममा आफूमाथि अन्याय भएको लम्सालले बताए । उनले सर्वसहमति नै नभएको ठाउँमा सर्वसम्मत भयो भनेर नाम पढेर घोषणा गर्नु उचित नभएको प्रतिक्रिया दिए । निर्वाचन सम्बन्धी कानुनी प्रक्रिया नै पूरा नगरी सर्वसहमति भनिएकोले आफू कानुनी उपचारमा जाने लम्सालको भनाइ छ ।
उपसचिव (महिला)मा उम्मेदवारी दिएकी पार्वती रानाले पार्टी नेतृत्वप्रति असन्तुष्टि पोखेकी छन् । उनले सर्वसहमतिका नाममा टिके प्रथा भएको भन्दै नेतृत्वप्रति गुनासो गरिन् । ‘सर्वसम्मत भनेको के हो ? आजसम्म बुझेको रहेन छु । नेताको आफ्नो हुनुपर्ने, अनि नेताको खल्तीबाट नाम पढ्न पाइने हो ?,’ रानाले सामाजिक सञ्जालमा असन्तुष्ट व्यक्त गरेकी छन् ।
जिल्लामा निर्वाचन नचाहेका नेताहरुले सर्वसहमति गराउने ‘सेटिङ’मा शनिवार दिउँसो नै निर्वाचन प्रक्रिया स्थगित गरेको असन्तुष्ट पक्षको आरोप छ । निर्वाचन अधिकृत अर्जुन अर्यालले भने निर्वाचन प्रक्रियामा अध्यक्ष मण्डल सर्वोच्च हुने भन्दै अध्यक्ष मण्डलको निर्देशनअनुसार काम गरेको जानकारी दिएका छन् । उनले अध्यक्ष मण्डलले निर्वाचन स्थगित गर्न निर्देशन दिएपछि सोही अनुसार निर्वाचन प्रक्रिया स्थगित गरेको जानकारी दिए ।
अध्यक्ष मण्डलका अध्यक्ष एमालेका मकवानपुर इञ्चार्ज रामेश्वर रानाले निर्वाचनको सबै प्रक्रिया पूरा गरेर प्रक्रियागत ढंगबाट नेतृत्व चयन भएको जानकारी दिए । उनले उम्मेदवारहरुबीच आपसी समझदारीमा पदाधिकारी र सदस्य टुंग्याएको जनाएका दाबी गरे ।
निर्वाचन समितिले भने आइतबार बिहानै मतदानको तयारी सक्काएको थियो । ५ पदाधिकारीसहित जिल्ला सदस्यहरुमा सहमति हुन नसकेको क्लस्टरहरुमा चुनाव गर्ने तयारी भएको थियो । चुनावको लागि मतपत्र छपाइ भइसकेको थियो भने मतपत्र तयारी अवस्थामा राखिएको समितिले जनाएको छ । नेतृत्वका लागि ४ रंगका मतपत्र थियो । रातो मतपत्रमा ५ पदाधिकारी तथा जिल्ला लेखा कमिटीको उम्मेदवारहरुको नामावली थियो ।
हरियो मतपत्रमा सहमती हुन बाँकी भूगोल तर्फका सदस्यहरुको नामावली थियो । सेतो मतपत्र जनजाती, मुस्लिम, अल्पसंख्यक, दलित सदस्य तथा पेशागत खुल्ला सदस्यका लागि रहेको थियो भने पहेँलो मतपत्रमा खुला सदस्य र महिला खुला सदस्यहरुको नामावली रहेको समितिले जानकारी दिएको छ ।
निर्वाचन माग गर्दै नारावाजी
नेकपा एमाले मकवानपुरको अध्यक्षसहित पदाधिकारीमा शनिवार बिहानैदेखि सहमतिका लागि प्रयास भएको थियो ।
नेताहरु हेटौंडा–४, स्थित क्विकट्वान्टी पार्टी प्यालेसभित्र सहमति खोजिरहेका थिए भने प्रतिनिधिहरु बाहिर चुनाव माग गरिरहेका थिए । निर्वाचन प्रक्रिया लम्बिदै गएपछि दिउँसो प्रतिनिधिहरुले नारावाजी गर्दै चुनाव गराउन माग गरेका थिए।
दिउसोभर नेताहरु ढोका थुनेर सहमति गराउन कस्सिए पनि दुवैले अध्यक्षको दावी छोडेनन् । एमालेका केन्द्रीय सदस्यहरु रामेश्वर राना, कृष्णप्रसाद दाहाल, जुनेली श्रेष्ठ, भारती पाठक, पूर्व केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, पार्टी प्रदेश सदस्य अनन्त पौडेललगायतका नेताहरुले दुवै पक्षलाई सहमति गराउने प्रयास गरेका थिए ।
बिहान ९ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भनिए पनि पदाधिकारीमा सहमति हुन नसकेपछि ४ बजेसम्म निर्वाचन प्रक्रिया लम्ब्याइएको थियो । पदाधिकारीमा सहमति वा निर्वाचन हुने बारे अनविज्ञता प्रकट भएपछि प्रतिनिधिहरु निराश भएका थिए । प्रतिनिधिहरु छिटो सहमति वा निर्वाचन प्रक्रिया अगाडि बढाउन नेताहरुलाई दबाब दिइरहेका थिए ।