दिपक बोहोरा (पाँचथर ) । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रमअनुसार पाँचथरमा बिहीबारदेखि जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला फुटबल संघ पाँचथरको आयोजनामा मिक्लाजुङ गाउँपालिका ४ स्थित अमरदिप आधारभुत विद्यालयको खेलमैदानमा हुने जिल्ला लिगमा ११ वटा फुटबल क्लबहरुको सहभागिता रहने संघका अध्यक्ष सुजन नेम्बाङले जानकारी दिए । गत वर्ष कोभिडको कारण जिल्ला लिग हुन सकेको थिएन । जिल्ला लिग पुस २२ गते देखि २९ गते सम्म सञ्चालन हुनेछ ।
जिल्ला लिगमा पाँचथर युनाइटेड क्लब (फिदिम १), सयपत्री युवा क्लब (यासोक),पाथिभरा स्र्पोटिङ क्लब (चोकमागु),टु स्टार क्लब इम्बुङ),राइजिङ स्टार क्लब (रबि),चोलुङ युवा क्लब (याङनाम), पल्लोटार युवा क्लब ( फिदिम २ पल्लोटार),.सुम्हात्लुङ युवा क्लब (फिदिम ४ गडी),रानिटार युनाइटेड (रानिटार),तिजोक युवा क्लब (नवमीडाँडा) ,फिदिम स्र्पोटिङ क्लब (फिदिम १) सहभागी हुने छन् । संघका अध्यक्ष नेम्बाङका अनुसार राउन्ड एन्ड रोविनको आधारमा हुने लिगमा सहभागी भएका क्लबलाई दुइ समूहमा बिभाजन गरी लिग गराउने बताइएको छ ।
जिल्ला लिगको विजेता प्रदेशस्तरमा हुने लिग प्रतियोगिताको लागि सीधै छनोट हुने बताइएको छ । प्रतियोगितामा सहभागी क्लबहरुले ए, बी वा सी डिभिजन खेलेका कुनै पनि खेलाडीलाई सहभागी गराउन पाउने छैनन् भने विभागीय टिमका खेलाडी पनि खेल्न नपाउने संघले जनाएको छ ।
जिल्ला लिगमा सहभागी क्लबहरु
रेलीगेसन गर्ने कि नगर्ने मा बिबाद
अखिल नेपाल फुटबल संघ (एन्फा) ले जिल्ला फुटबल संघ पाँचथरलाई गरेको परिपत्रमा रेलीगेसन सहितको लीग गर्न र क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना गरी नयाँ क्लबलाई लिगको अवसर दिनु भनेको भए पनि पाँचथरमा भने जिल्ला लिग रेलिगेसन सहितको गर्ने कि रेलिगेसन बिनाको गर्ने भन्ने कुरामा बिबाद रहेको नेम्बाङले बताए । धेरै क्लब र संघका पदाधिकारीहरु रेलिगेसन गर्ने नहुने पक्षमा रहेका छन् । संघका अध्यक्ष र केहि क्लबहरुबाहेका अधिकांश रेलीगेसन बिनाको लिग गर्न खोजीरहेको जिल्ला फुटबल संघ निकट स्रोतहरु बताउछन् ।
आफुहरुले धेरै दुख गरेको र जिल्ला फुटबल संघको चुनाब पनि नजिकै आउदै गरेको हुँदा रेलीगेस गर्न नहुने पक्षमा जिल्ला फुटबल संघका अधिकांश पदाधिकारीहरु लागेका छन् । अध्यक्ष नेम्बाङ भने पुछारमा भएका दुईवटा क्लबलाई रेलिगेसन गर्नु पर्ने र बी डिभिजनमा घटुवा भई नयाँ क्बलले जिल्ला लिग खेल्ने अवस पाउनु पर्नेमा पक्षमा आफु रहेको बताउछन् । क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिताको विजेता जिल्ला लिगमा छनोट हुने र लिगको पुछारमा रहेको टिम घटुवा गर्दा नयाँ टिमहरुले पनि जिल्ला लिगमा अवसर पाउने नेम्बाङको तर्क रहेको छ । तर, रेलिगेसन नगर्दा लिग गर्नु र नगर्नुको कुनै अर्थ नरहेको नेम्बाङ बताउछन् । कार्य समितिमा आफु अल्पमतमा रहेकाले निणर्य गराउन नसकेको उनले बताए ।
यस पटकको जिल्ला लिग करिब रेलिगेसन बिनाकै हुने निणर्य भएको जिल्ला फुटबल संघ पाँचथरका उपाध्यक्ष शिव लावतीले बताए । एन्फाको परिपत्र पनि ढिला आयो, अहिले समय पनि कम भएकाले क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना गर्न जिल्ला फुटबल संघले नसक्ने भएकाले अब रेलिगेसन बिनाकै हुने दाबि गरे ।
जिल्ला फुटबल संघले यस पटक पनि रेलिगेसन बिनाको जिल्ला लिग गर्न लागेकाले जिल्ला लिग खेल्न चाहाने नयाँ क्लबहरुले फेरी अर्को अवसर पर्खनु पर्ने हुन्छ ।