ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा छ दिनदेखि हिउँमा फँसेका बाबुछोराको उद्धार हुन सकेको छैन । आईतबार बिहान दुई पटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर उद्धारका लागि गए पनि ठाउँ पहिचान गर्न नसकेपछि उद्धार हुन नसकेको हो ।
अन्दाजी ५०/५५ वर्षका लाक्पा टासी र उनका १४/१५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबार हिउँमा फँसेका हुन् । ‘चौँरीसँगै हिउँपहिरोले बगायो तर ओडार भेटेर बसेका छौँ । हामी निस्कन नसक्ने भयौँ’ भन्दै गत शनिबार हेलिकप्टरबाट निकालिदिन लाक्पाले आग्रह गरेको मिक्वाखोला–५ का वडाध्यक्ष डण्डु शेर्पाले बताए ।
समुद्री सतहबाट चार हजार मिटर उचाइमा अवस्थित पापुङको लोनाक भन्ने ठाउँमा चौँरीगोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फँसेका हुन् ।
वडाअध्यक्ष शेर्पालाई लाक्पाले फोनमार्फत उद्धारका लागि हेलिकप्टर पठाइदिन आग्रह गरेका थिए । सोहीअनुसार शनिबार ११ बजे ताप्लेजुङको सुकेटारबाट उद्धारका लागि हेलिकप्टर दुई पटक उडान गरेको थियो । तर कुन ठाउँमा हो भन्ने मेसो नपाएपछि हेलिकप्टर रित्तै सुकेटार फर्केको थियो ।
आइतबार बिहान दुई पटक उद्धारका लागि सुकेटरबाट पापुङको लोनाक ठाउँमा गए पनि बाबुछोरा बसेको ठाउँ पत्ता नलागेपछि हेलिकप्टर रित्तै सुकेटार फर्केको ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।