ताप्लेजुङ । हिमपातका कारण गत पुस १४ गतेदेखि जंगलमै अलपत्र ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका बाबुु र छोराको उद्धार प्रयास आइतबार पनि गरिने भएको छ ।लाक्पाटासी र उनका १४ वर्षीय छोरा पासाङको खोजीमा अल्टिच्युट एयरको हेलिकप्टर शनिबारदेखि ताप्लेजुङमा छ ।
हिजो दुईपटक प्रयास गर्दापनि नदेखिएपछि साँझ पर्दै गएको, मौसम बिग्रिएको र इन्धन सकिने भएपछि तेह्थुमको लसुने गएको हेलिकप्टर इन्धन भरेर बिहानै आउने पापुङका वडाध्यक्ष डण्डु शेर्पाले बताए । लोकेसन करिब पत्ता लागिसकेकाले आइतबार बिहान उद्धार सहज हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।
गोठ सार्ने क्रममा परेको हिमपातका कारण ओडारमा बसेका उनीहरुले निस्कन नसकेकाले हेलिकप्टरबाट उद्धार गरिदिन परिवार र वडाध्यक्षलाई आग्रह गरेका थिए ।