झापा । फिनल्यान्डलगायत देशमा वैदेशिक रोजगारी दिलाउने प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने इलामका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम माईजोगमाइ गाउँपालिका २ का २९ वर्षीय अमित थामी हुन् ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार उनी काठमाडौँबाट पक्राउ परेका हुन् । स्थायी घर इलाम भएका उनी काठमाडौँको चावहिलमा डेरामा बस्दै आएका थिए ।
थामीले सेक्युरिटी गार्डका लागि फिनल्यान्ड पठाइदिने भन्दै शम्भु घलेलगायत पाँच जना व्यक्तिसँग २१ लाख रुपैयाँ असुलेको खुलेको छ । पछिल्लोपटक घलेलाई भिसा प्रोसेसिङका लागि डेढ लाख रूपैयाँ आफ्नो नाममा सिभिल बैङ्कको खाता नम्बर ०६३१०२६४६६४०१३ मा डिपोजिट गर्न थामीले भनेपछि उनको ठगी धन्दा खुलेको हो ।
ठगीमा परेको आशङ्का लागेपछि घलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएर कागजात चेक गराएका थिए । कागजात चेकजाँच गराउँदा सबै नक्कली भएको खुलेको थियोे । त्यसपछि घलेसहित पाँच जनाले प्रहरीमा उजुरी दिएका थिए । उजुरी दिने अन्य चारको नाम र घलेसहितको ठेगाना प्रहरीले गोप्य राखेको छ ।
थामीले भिसा, टिकट र होटल बुकिङको नाममा बैङ्क खातामा २१ लाख जम्मा गर्न लगाएको अनुसन्धानबाट खुलेको छ । बैङ्कमा रकम जम्मा भएपछि थामी मोबाइल अफ गरी सम्पर्कविहीन भएका थिए ।
पक्राउ परेका उनी अहिले काठमाडौँ प्रहरी परिसरमा छन् । उनीविरुद्ध थप अनुसन्धान भइरहेको छ । उनलाई ठगी अपराधमा कारबाही हुने प्रहरीले जनाएको छ ।