काठमाडौं ।सिन्धुली घर भई काठमाडौं बिजुलीबजार बस्ने राजकुमार बराल गत २२ असोजमा साथी सुभाष भेटवाललाई भेट्न बानेश्वरस्थित उनको कार्यालय पुगे । त्यहाँ भेटवाल अन्य साथीसँग तास खेलिरहेका थिए । प्रहरीले अनुसन्धानमा चासो नदेखाएर उल्टै आरोपी पक्षलाई चेक फिर्ता गरेको र चेकमा उल्लेख रकम तिर्न आफूलाई दबाब दिएको पीडित राजकुमार बरालको दाबी, गृह मन्त्रालयमा दिए उजुरी
बराल पनि केही समय तास खेलेर घर फर्किए । भोलिपल्ट घर जाँदा उनको एउटा किताब र हस्ताक्षर गरिएका सातवटा चेक त्यहीँ छुटेको थाहा पाए । चेक पत्ता नलागेपछि खोजी गरिदिन उनले प्रहरीमा निवेदन दिए भने बैंकबाट पनि ती चेक ‘ब्लक’ गराए ।
हराएका चेक उनका साथी भेटवालसँगै भएको खुल्यो । उनले खोजीका लागि दिएको निवेदनका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले भेटवाललाई बोलायो । प्रहरीले बोलाउँदा त हराएका सातवटा चेकमा दुई करोड २९ लाख रुपैयाँ भरिएको थियो ।
प्रहरीले चेक आफैँसँग राखेर दुवै पक्षलाई छलफलमा राख्यो । पछि काठमाडौं परिसरका तत्कालीन प्रमुख एसएसपी अशोक सिंह तथा मुद्दा शाखाका डिएसपी नरेन्द्र चन्दले उल्टै आरोपीको पक्ष लिएपछि बराल झस्किए । चेकमा भएको पैसा तिर्न दबाब दिए ।
तर, चेकमा लेखिएको लेखाइ कसको हो र पैसा लेनदेनको आधार के हो भन्नेलगायतका विषयमा अनुसन्धानमा चासो दिएन । प्रहरीले उल्टै चेक लुकाउनेको पक्ष लिएको बरालको भनाइ छ । चेक हराएलगत्तै उनले प्रहरीमा निवेदन दिनेदेखि बैंकलाई खबर गर्नेसम्मका काम गरेका थिए । गत २ पुसमा एसएसपी सिंहको सरुवा भयो । सरुवा भएपछि उनले पीडित पक्षको जानकारीविना नै आरोपी पक्षलाई नै चेक फिर्ता दिएपछि विवाद भएको छ । र, यो विवाद गृह मन्त्रालयसँग पुगेको छ ।
गृह मन्त्रालयको प्रहरी प्रधान कार्यालयलाई निर्देशन
चेक हराएका बरालले शुक्रबार गृह मन्त्रालयमा प्रहरीविरुद्ध निवेदन दर्ता गराएका छन् ।
‘म निवेदकलाई समेत नबोलाई कुनै जानकारी नदिई थप छलफलसमेत नगरी रमाना बुझ्ने दिन सुभाष भेटवाललाई सुटुक्क एक्लै बोलाई चेक फिर्ता दिने कार्य गर्नुले एसएसपी अशोक सिंहको बदनियत प्रमाणित भएको छ,’ उनले निवेदनमा भनेका छन् ।
प्रहरीले निष्पक्ष अनुसन्धान नगरेको र दुर्व्यवहारसमेत गरेको दाबी उजुरीमा गरिएको छ । सो निवेदनउपर छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।
एसएसपी सिंहले भने त्यस विषयमा प्रहरीले कुनै गल्ती नगरेको दाबी गरे । ‘सम्बन्धित व्यक्ति आफैँले चेक दिएको सिसिटिभी फुटेज नै देखिएको थियो,’ उनले भने, ‘चेक चोरी र किर्ते भएको हाम्रो छानबिनमा देखिएन, कुनै पक्ष लिएको आरोप सही होइन ।’
याे खबर नयाँपत्रिकामा छ ।