पाँचथर । पत्रकारिताका माध्यमबाट नगरको विकास र सुशासनमा महत्वपूणर् भूमिका निर्वाह गरेको भन्दै फिदिम नगरपालिकाले पत्रकार लक्ष्मी गौतमलाई पुरस्कृत गरेको छ । फिदिम नगरपालिकाको १०औं नगर सभा उद्घाटन कार्यक्रमको अवसर पारेर आइतवार गौतमलाई पुरस्कृत गरिएको हो । फिदिममा आयोजित कार्यक्रममा रु. १० हजार राशीको पुरस्कारबाट गौतम पुरस्कृत भएका छन् ।
नगर सभा उद्घाटन कार्यक्रमका प्रमुख पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङ तथा फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले गौतमलाई कदर-पत्र र पुरस्कार रकम प्रदान गरेका थिए । फिदिम नगरपालिकाले वि.सं. २०७४ सालबाट नगर विकास पत्रकारिता पुरस्कार प्रदान गर्न थालिएको जनाएको छ । फिदिम स्थित रेडियो मितेरी सञ्चालक समितिका अध्यक्ष गौतम दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरका पूर्वअध्यक्ष समेत रहनुभएका उहाँ हाल कान्तिपुर मिडिया ग्रुपमा आवद्ध छन् ।
सोही अवसरमा १० हजार राशीकै उत्कृष्ट कर्मचारी पुरस्कारबाट फिदिम नगरपालिका-८ की वडा सचिव कल्पना अधिकारी, चोकमागू स्वास्थ्य चौकी फिदिम-५ का अहेब दिनेश मण्डल र नगरपालिकाको स्टोर शाखाका प्रमुख हाङनारायण हाङसरुम्बा पुरस्कृत भए । यस्तै नगरपालिकाले सरुवा भई जान लाग्नुभएका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीलाई एक महिनाको तलब बराबरको पुरस्कार सहित सम्मान गरेको छ ।
यस्तै नगरपालिकाले उत्कृष्ट करदाताहरुलाई समेत सम्मान गरेको छ । सम्मानित हुने करदाताहरुमा संस्थागततर्फ माछापुच्छे्र बैङ्क लिमिटेड फिदिम शाखा र ब्यक्तिगततर्फ फिदिम-४ का बबिन्द्रविक्रम बुढाथोकी रहेका छन् ।