पाँचथर । समस्त पितृ हरुको सम्झनामा मनाइने बाला चतुर्दशी मंसिर महिनको कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी एक नेपालमा मनाईने एक परम्परागत पर्व हो । जुन विभिन्न मन्दिरहरूमा सतबीज (सतबीउ) छरेर मनाईन्छ । सनातन हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्त्व रहेको पाइन्छ । प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ । यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ । मार्गकृष्ण त्रयोदशीको साँझमा विभिन्न मठमन्दिरहरुमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात् चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ । बोलीचालीको भाषामा सद्बीउ छर्ने भनिने शतबीजरोपणले पितृहरूको उद्धार हुन्छ भन्ने जनविश्वास रही आएको छ । शतबीज रोपणको ठूलो महिमा बताइएको छ । यसैकारण पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू आफ्नो पितृहरूको उद्धार गर्ने उद्देश्यले आफुलाई अनुकुल हुने मन्दिरको परिसरमा आइपुग्छन् । बिशेसत पितृ हरुकै निमित्त यो दिन मठ मन्दिरमा गै धान, मकै, गहु,तिलजौ, लगाएतका बिजलाई धार्मिक तटमा छर्ने चलन रहेको र बिषेशत दिवंगत् पितृको बार्षिकी पुर्व छर्ने सतबिउ अहिले दिवंगत् पितृको सम्झनामा पनि छर्ने चलन रहेको पण्डित ओमप्रकास पोखरेलले बताउनु भयो ।

सतबिउ
भगवान् शिव मृगरूप लिएर जहाँजहाँ घुम्नुभयो, त्यस पुण्य क्षेत्रमा बालाचतुर्दशीका दिन एक गेडा बीज छर्दा त्यत्तिकै परिमाणमा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ। बागमती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा उक्त बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती पनि छ। यसैगरी पशुपतिको मुर्दाघाटमा बस्ने बालानन्द नामक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको मुर्दाको टाउको फुट्न गई उछिट्टीएको गिदी उनको च्युरामा परेको र उक्त गिदीसँगै च्युरा खाँदा झन् मीठो स्वाद आएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्के। यस्तै आचरण तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाह अनुसार स्थानीय बासिन्दाले बालासुरको मित बृषसिंह मार्फत उसलाई मार्न लगाएको अर्को किम्वदन्ती पनि छ। आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई सतबीज छर्ने आज्ञा दिएकाले मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि सतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवंगत आत्माको शान्तिका लागि सतबीज छर्ने गरिएको धार्मिक ग्रन्थमा उल्लेख छ।

शिवालयमा छर्दै सतबिउ
आफ्ना मातापिताको आशौच वा बरखी बारेको समय बाध्यताले गर्दा गर्नुपर्ने विविध नियमको पालन गर्न नसकिने हुनाले मार्गकृष्ण त्रयोदशीको साँझमा बत्ती जगाई रातभरि जाग्राम बसी भोलिपल्ट शतबीउ छर्नाले आध्यात्मिक र आधिभौतिक र आधिदैविक पापहरू नष्ट हुन्छन् भन्ने विश्वास रहेको छ। पशुपति, मृगस्थली एवं कैलाशमा शतबीज छर्नाले अन्न वा सुनचाँदी दान गरेभन्दा पनि ठूलो पुण्य मिल्छ भन्ने पद्म, स्कन्द पुराणमा बताइएको पण्डित ओमप्रकास पोखरेलले केन्जो खवर बताउनु भएको छ। भगवान् शिवले पनि आफ्नो बालककालमा शतबीज छरेकोले यस दिनको नाम बालाचतुर्दशी रहेको हो भन्ने कुराको उल्लेख पनि गरिएको छ। यसैगरी शिवजीले कुनै समयमा श्लेष्मान्तक वनमा बालाचतुर्दशीको दिन शतबीज छर्नेका पितृहरूले मोक्ष प्राप्त गर्ने वरदान दिनुभएको किंवदन्ती पनि पाइन्छ। मार्गकृष्ण त्रयोदशीको दिन बेलुकी त्यही वर्ष मातापिता वा आफन्त दिवंगत हुनेहरूका र धेरै वर्ष अगाडि नै दिवंगत भइसकेका पितृका सन्तानहरू पशुपतिका वरपर वा अन्य शिवालय परिसरमा गएर बत्ती बाल्ने गर्दछन्। यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ। राति बालिएको बत्ती चतुर्दशीको बिहानै आफ्नो पायक पर्ने नदीमा सेलाए (बगाए) पछि पशुपतिमा बस्नेहरूले मृगस्थली हुँदै कैलाश, पशुपति, चौसठ्ठी लिङ्ग आदि विभिन्न चौध क्षेत्रमा शतबीज छर्छन्। लगातार तीन वर्षसम्म बत्ती बालिसकेकाहरूले शतबीज छरिसकेर ब्राह्मण पुरोहितद्वारा साङ्गेको रूपमा चतुर्थीकृत्य सम्पादन गर्दछन्। पहिलो र दोस्रो वर्ष बत्ती बाल्नेहरू भने ब्राह्मणलाई टीका लगाई कैलाशमा गई दहीच्युरा खान्छन्। कैलाशमा बसेर दहीच्युरा खानाले भगवान् शिव खुशी हुन्छन् भन्ने जनविश्वास रहेको छ। तर पशुपति वा शिवालयमा गई बत्ती बाल्न अनुकूल नहुनेहरू घरैमा बत्ती बालेर भोलिपल्ट नदी वा जलाशयमा गई पितृको नाममा सो बत्ती बगाउँछन्। यो पर्व हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूले उत्तिकै श्रद्धाका साथ मनाउने गरेको बिशेसगरि पशुपतिमा लाग्ने यी दुई धर्मावलम्बीहरूको भीडबाट प्रष्ट हुन्छ। यसरी बालाचतुर्दशी वा शतबीज रोपण पर्वको मुख्य सन्देश के हो भने हामीले आफू बाँचेको समाजलाई मात्र नहेरी दिवंगत भएका पितृहरूको पनि सम्झना गर्नुपर्दछ। यसरी पितृको सम्झना गर्नाले एकातिर पितृको समेत उद्धार हुने र अर्कोतिर पितृको आशीर्वादले आफू र आफ्नो परिवारको पनि कल्याण हुन्छ। श्रुति, स्मृति र पुराणहरूमा देवता रिझाउनभन्दा पितृ रिझाउन कठिन हुन्छ, पितृ खुसी भए परिवारमा सुखसमृद्धि आरोग्य एवं ऐश्वर्य वृद्धि हुन्छ भन्ने कुराको उल्लेख गरिएकोले पनि यस पर्वको महत्त्व प्रष्ट हुन्छ। पाँचथर जिल्लामा पनि विभिन्न स्थान जस्तो कि जोरपोखरी, शिवालय, थाक्ले मन्दिर, थर्पुको गुप्तेश्वर, यासोकको सिद्ददेबी मन्दिरमा सतबिउ छर्नेको घुइचो हुने गरेको छ ।

पिण्डेश्वर धाम धरानमा भक्तजन (देबेन्द्र कार्कीको फेसबुक वालबाट )