काठमाडौं । उत्पादन शुरु गरेको करिब साढे तीन वर्षपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमामा रहेको होङ्शी शिवम् सिमेन्टमा राष्ट्रिय प्रसारण (ग्रिड) को विद्युत् पुगेको छ । २०७५ जेठबाट उत्पादन शुरु गरेको उद्योगलाई बिजुली दिन बनाउनुपर्ने प्रसारणलाइनमा अवरोध भएपछि उद्योगले निकै ढिला गरी विद्युत् पाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई शनिबारबाट विद्युत आपूर्ति दिएको छ । प्रसारण लाइन तथा सबस्टेसन शनिबार राति ९ बजे चार्ज गरी उद्योगलाई विद्युत आपूर्ति दिइएको हो । अहिलेसम्म उद्योग थर्मल प्लान्टबाट उत्पादित बिजुलीमा निर्भर थियो।