एमाले उपाध्यक्ष भीम रावलले १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने मनस्थिति बनाएका छन्।
गृह जिल्ला अछाम पुगेका उपाध्यक्ष रावलले अध्यक्षको उम्मेदवार बन्छु भनेर स्पष्टसँग त भनेका थिएनन् तर आफू कार्यकर्ताको भावना अनुसार चल्न तयार रहेको बताएका थिए।
साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले अध्यक्ष शब्दको प्रयोग नगरे पनि उम्मेदवार बनेर हार्न तयार रहेको समेत बताएका थिए।
उनले पार्टीलाई एकताबद्ध गराएर १० बुँदे कार्यान्वयन गर्नुपर्ने र पार्टी अध्यक्षले जारी गरेको अपानि १२ कार्यान्वयन हुनुपर्ने बताए। यसका लागि अध्यक्षले नमानेमा उनको व्यवहार अनुसारको संघर्ष गर्ने समेत रावलले चेतावनी दिए। यही क्रममा रावलले १० औं राष्ट्रिय महाधिवेशनको प्रसंग उठाए।
महाधिवेशनमा कतिपय साथीहरूले तपाईं केमा उठ्नुहुन्छ भन्नुभएको छ। मैले तपाईंहरू जेमा उठ भन्नुहुन्छ म त्यसैमा उठ्छु भनेको छु,’रावलले भने,’तपाईंहरूको पनि केही छ भने भन्नुहोस्।’
रावलको प्रश्नमा उनका कार्यकर्ताहरूले अध्यक्ष भनेर भनेका थिए। त्यसपछि रावलले प्रस्ताव नै रहेछ भन्ने जवाफ फर्काए।
‘मैले यत्रो वर्ष काम गरेको छु। जनताको र कार्यकर्ताको आवाज कमजोर हुन दिन्नँ। त्यो जे गर्दा बलियो हुन्छ म त्यसका लागि कत्ति नहिचकिचाइ उच्च मनोबलका साथ अघि बढ्छु,’उनले भने,’कतिपयले सोध्नुभएको छ, हैन हार्यो भने के गर्ने? अनि मैले के भनेको छु भने चुनावमा लडेपछि नहार्ने को छर? केपी ओलीले हरेका थिएनन् र आठौं महाधिवेशनमा।’आठौं महाधिवेशनमा एउटै प्यानलबाट ओलीले अध्यक्ष र आफूले उपाध्यक्षमा हारेको समेत प्रसंग रावलले उल्लेख गरेका थिए।
२०६५ सालमा बुटवलमा भएको महाधिवेशनमा ओलीले झलनाथ खनालसँग अध्यक्ष हारेका थिए।
ओलीको प्यानलबाट उपाध्यक्षमा रावल पराजित भएका थिए। २०६४ सालको संविधान सभा निर्वाचनमा ओली झापाबाट पराजित भएका थिए। माधव नेपालले काठमाडौंबाट निर्वाचन हारेको समेत रावलले बताए।
‘मुख्य कुरा देशको लागि जनताको लागि न्यायको लागि समानताको लागि सिद्धान्तको लागि झण्डा बलियो गरी समात्छ कि समात्दैन भन्ने कुरा हो। हारजितको कुरा के हो र,’रावलले भने,’यही ठाउँमा २०४८ सालमा हारेको हो। जिताएर तपाईंहरूले देशको उपप्रधामन्त्री बनाइदिनुभयो। प्रतिनिधि सभाको सदस्य बनाइदिनुभयो। त्यसकारण दसौं राष्ट्रिय महाधिवेशनमा तपाईंहरूको स्वाभिमान,भावनालाई झण्डा जसरी बलियो गरी समात्छु। हार्ने जित्ने कुराको चिन्तै नलिनुस्।’