पाँचथर– पाँचथरको उत्तरी फालेलुङ गाँउपालीकाको कार्यालयमा तालबन्दी भएको छ । गाँउपालीकाको प्रशासकिय भवनको ठेक्का पाएको कम्पनीले रकम भुक्तानी नभएको भन्दै आईतवार तालाबन्दी गरेको हो ।
उक्त भवनको पहिलो तला निर्माणको लागि कमल कन्ट्रर्सनले ९४ लाखमा ठेक्का लिएको थियो । उक्त कन्ट्रर्सनबाट पेटि ठेक्का लिएका ठेकेदारले तालाबन्दी गरेका हुन् । काम सकिएपनि भुक्तानी नभएकाले तालाबन्दी गरीएको पेटि ठेकदार अनिस गुरागाईले जानकारी दिए ।
‘कार्यालयबाट घर आईपुगेको थिए । ताला लगाएछन्’ गाँउपालिका प्रमुख सञ्चकुमार केरुङले भने ‘हामी भोलीसम्म मिलाउँछौँ ।’
ठेकेदारले पटक पटक भुक्तानी माग्दा नदिएको आरोप लगाएका छन् । काम सकिएको चार महिना पछि तालबन्दी गरिएको दाबि गरीएको छ ।
प्रमुख प्रशासकिय अधिकृत विनोद चौहानका अनुसार सम्झौताको समय सिमा सकिदा पनि छत ढलान भएको थिएन । समय अवधिमा निर्माण कम्पनीले काम सकेको थिएन । ‘२०७७ असारको २४ गतेसम्म म्याद थियो । गरेको कामको पैसा लिएर जानु भन्दा उहाँहरु मान्नु भएन’ चौहानले भने ‘असार–३० गते कार्यपालीकाको बैठले म्याद थप्ने निर्णय भयो । पैसा आउने हिउँदेसभाबाट निर्णय गरेर हुने भनियो । अहिले भुक्तानी माग्दा दिन सक्ने अवस्था भएन ।’
निर्माण कम्पनीले साउनमा काम गरेको थियो । गाँउपालीकाले गाँउसभाले निर्णय नगरी भुक्तानी दिन नसक्ने अवस्था रहेको बताएको छ । ४२ लाख भुक्तानी हुन बाँकि रहेको गुरागाईले जानकारी दिए ।