काठमाण्डाैं । एमाले र माओवादी मिलेर २०७५ जेठ ३ गते नेकपा बनेपछि सुदूरपश्चिम प्रदेशको इन्चार्ज भीम रावललाई बनाइयो। माओवादीमा २०६३ देखि निरन्तर सो प्रदेशका इन्चार्ज रहँदै आएका लेखराज भट्टलाई त्यो निर्णय चित्त बुझेन।
उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर निर्णय सच्याउन आग्रह गरे। तर, प्रचण्डले भट्टको आग्रह पुनर्विचार गरेनन्। रावल नै इन्चार्ज चुनिए। किनकि प्रचण्ड रावलसँग प्रभावित भइसकेका थिए। सुदूरपश्चिमबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिसँगको कार्यक्रमलाई धनगढीमा सम्बोधन गर्दै प्रचण्डले भीम रावललाई नै प्रदेशको नेताको रुपमा अघि सारेका थिए।
प्रचण्डको सम्बोधन सुनेका तत्कालीन नेकपाका सहइन्चार्ज खगराज भट्टले बताएअनुसार त्यसबेला प्रचण्डले भीम रावल एमालेकै सिनियर नेता भएको र प्रदेश इन्चार्ज पनि भएकाले सहयोग गर्न सबैसँग आग्रह गरेका थिए।
भट्टले आफ्नै सहकर्मीलाई पनि विश्वासमा लिन नसकेको प्रचण्डको बुझाइ थियो।
लामो समय प्रचण्डलाई साथ दिँदै आएका भट्ट त्यही विन्दुबाट प्रचण्डसँग बिच्किए। त्यसैले सर्वाेच्च अदालतले नेकपा भंग गर्ने निर्णय गरेपछि पनि उनी माओवादी केन्द्रमा फर्केनन्, एमालेमा प्रवेश गरे।
त्यसपछि भट्ट तुरुन्तै एमाले अध्यक्ष केपी शर्मा ओलीबाट पुरस्कृत पनि भए। ओलीले २०७७ फागुन २८ मा भीम रावललाई हटाएर लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज बनाए।
११ वर्ष निरन्तर इन्चार्ज रहेका उनी २ वर्ष (२०७५ जेठ ३ देखि २०७७ फागुन २३ सम्म) त्यत्तिकै बस्नुपरेको थियो। तर, भीम रावल एमालेमा ओलीको विपक्षमा उभिएपछि उनले फेरि इन्चार्ज पद प्राप्त गरे।
तर, भट्ट लामो समय इन्चार्ज बन्न पाएनन्। भदौ ८ मा माधवकुमार नेपाल पक्षमा लागेका भीम रावलसहित ९ नेता नवगठित पार्टीमा नगई एमालेमै फर्किए।
भीम रावल एमालेमा फर्केपछि भट्टको इन्चार्ज पद फेरि खोसिएको छ। पहिले एमालेको सो प्रदेशका इन्चार्ज रावल थिए, उनैले फेरि त्यो अवसर पाएका छन्। भदौ ८ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले नेताहरुको जिम्मेवारी पुरानै अवस्थामा फर्किएको निर्णय गरेको थियो।
इन्चार्ज पद खोसिएपछि भट्ट यतिबेला बिचल्लीमा परेका छन्। प्रदेश इन्चार्जका लागि उनले माओवादी त्यागे। तर, त्यही पद पनि पाएनन्।
त्यसमाथि प्रदेशको बागडोर प्रतिस्पर्धी रावलको हातमा परेपछि भट्टलाई झनै मुस्किल पर्ने देखिन्छ।
रावल र भट्ट दुवै विगतमा सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता हुन्। उनीहरु एउटै पार्टी र एउटै पदका प्रतिस्पर्धी हुँदा दुई नेताबीच जटिल समस्या आउने तत्कालीन नेकपाका सुदूरपश्चिम सहइन्चार्ज रहेका खगराज भट्ट बताउँछन्।
‘भीम रावल र लेखराज भट्ट दुवै व्यक्तिवादी सोचविचार भएका नेता हुन्। उनीहरु एउटै पार्टीमा रहन सम्भव छैन,’ खगराजले नेपालखबरसँग भने, ‘राजनीतिलाई आफ्नो वरिपरि घुमाएर लाभ लिन खोज्नेहरुबीच कि सम्झौता हुनुप¥यो नत्र टकराव सुरु हुन्छ।’
रावल र भट्टबीच व्यक्तिगत अहंकारकै कारण विवाद उत्पन्न हुने उनले दाबी गरे।
‘विवाद आजै देखिँदैन, भोलि चुनावमा देखिन थाल्छ, टिकट वितरणमा हुने विवादले उग्र रुप लिने खतरा छ,’ खगराजले थपे।
२०७७ फागुन २६ गते रावललाई इन्चार्जबाट हटाएर भट्टको नेमप्लेट राख्ने विषयमा विवाद हुँदा माधव नेपाल पक्ष र केपी ओली पक्षबीच कुटाकुट नै भएको थियो।
तर, अहिले दुवै नेता कमजोर स्थितिमा छन्। भट्ट माओवादीबाट एमाले प्रवेश गर्दा उनले साथमा कसैलाई पनि लैजान सकेनन्। त्यसैगरी माधव नेपाललाई छाडेर एमालेमै फर्किन पुगेका रावलले पनि सो प्रदेशमा आफ्नो शक्ति गुमाएका छन्।
उनलाई लामो समयदेखि दरिलो साथ दिँदै आएका नेतादेखि सो प्रदेशका केही प्रभावशाली सांसदले समेत रावलको साथ छाडेका छन्।
अछाम जिल्लाका अध्यक्ष शेरबहादुर कुँवरदेखि सुदूरपश्चिम प्रदेशका ७ जना केन्द्रीय सदस्य र ६ जना प्रदेश सांसदले रावलको साथ छोडेका छन्।
ठीक यसैगरी भट्टले पनि आफ्ना पुराना सहयात्रीको साथ गुमाएका छन्।
‘लेखराजलाई जनयुद्धकालदेखि सहयोग गर्दै आएको बलियो टिम उनको साथमा छैन,’ माओवादी केन्द्रका एक केन्द्रीय सदस्य भन्छन्, ‘पहाड र तराई दुवैमा उनले आफ्ना बलिया खम्बा गुमाइसके।’
‘माओवादीमा फर्किने बाटो बन्द’
एमालेका नेताहरु पार्टी जेठ २ मा फर्केको बताइरहेका छन्। तर, एमालेका पूर्वमाओवादी नेताहरु भने त्यसलाई स्वीकार्न तयार छैनन्।
एमालेका स्थायी कमिटी सदस्य मणि थापाले एमालेमा अहिले नेकपाकालीन संरचना कायम रहेको बताए।
‘अहिले नेकपाकालीन संरचना नै कायम छ। हामी नेकपाकै अवस्थाका नेताहरु छौँ,’ थापाले नेपालखबरसँग भने, ‘नेकपा हुँदा जे जति जिम्मेवारी दिइएको छ, अहिले पनि त्यही जारी छ। अध्यक्ष केपी ओलीले पहिलेको अवस्थामा फर्कन नसक्ने प्रष्ट पार्नुभएको छ।’
त्यसो त एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुमाथि अन्याय भए विद्रोह गरेर हिँड्ने चेतावनी पनि उनले दिए।
‘यसअघि दिइएको जिम्मेवारी तलमाथि भए वा जिम्मेवारी केही नभए विद्रोह गरेर भए पनि हिँडिन्छ,’ थापाले भने।
एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले माओवादीका नेताहरु समेत मिलाएर नयाँ एमाले बनेको र पहिलाको जिम्मेवारी यथावत् रहेको बताए।
‘माओवादीबाट आउनुभएका साथीहरुको बारेमा दस बुँदे सहमतिमा स्पष्ट रुपमा लेखिएको छ, सो सहमतिअनुसार उहाँहरु आआफ्नो जिम्मेवारीमा हुनुहुन्छ।’
‘अहिलेको एमाले भनेको माओवादी केन्द्रबाट आउनुभएका साथीहरु र पहिलेकै एमालेको मिश्रण हो, यो नयाँ एमाले हो, उहाँहरुको जिम्मेवारीमा कुनै कन्फ्युजन छैन,’ नेम्वाङले भने।
उता लेखराज भट्टलाई माओवादी केन्द्र फर्किने बाटो बन्द भइसकेको खगराज भट्टले बताए।
‘रावल र भट्टलाई एमालेमा नमिले पनि सुख छैन र मिल्न पनि कठिन भइरहेको बेला माओवादी केन्द्रमा सजिलै स्थान बन्ला जस्तो लाग्दैन,’ खगराजले भने।
भट्टलगायतका नेताहरु माओवादी केन्द्र खारेज गर्नुपर्ने रिट बोकेर सर्वाेच्च अदालत पुगेका थिए। जसलाई प्रचण्डले गम्भीर रुपमा लिएको खगराज बताउँछन्।
त्यसो त भट्टले माओवादीमै हुँदा पनि पार्टीप्रति असन्तुष्टि जनाउँदै आएका थिए।
उनले क्षेत्रीय पार्टी गठन गर्न आफूनिकटका नेताहरुसँग सल्लाह गरे पनि कसैले साथ दिएको थिएन।
‘क्षेत्रीय पार्टी बनाउने कोसिस गर्नुभएको थियो,’ भट्टसँग लामो समय काम गरेका एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘आफ्नो कोर टिमले नै सहयोग नदिएपछि पछि हट्नुभयो।’