काठमाडौं ।अचेल अपरिचितहरूको पहिलो भेट फेसबुकजस्ता समाजिक सञ्जालमा हुन्छ नि, त्यस्तैगरी धानीमाया (परिवर्तित नाम) को भेट प्रवेश ढकालसँग भएको थियो। मुद्दामा उनको परिवर्तित नाम धादिङ २४ (१६६८) छ। उनीहरूको चिनजान भएको करिब साढे दुई वर्षअघि हो। धादिङको निलकण्ठ नगरपालिका- ९ पाल्पा भञ्ज्याङका प्रवेशले धानीमायालाई मेसेन्जरमा बोलाए। आफ्नै गाउँठाउँका मान्छे थिए प्रवेश, उनी बोलिन्।
फेसबुकबाटै चिनजान भएका उनीहरू फेसबुके साथी भए। जसरी सामान्य साथीसँग कुरा हुन्छ, त्यसरी नै उनीहरूबीच कुरा हुन थाल्यो। घरमा को-को छन्, कसले के-के गर्छन् जस्ता घर-परिवारका र साथीसंगी, पढाइ, सपना सबैबारे कुरा हुँदै गयो।
प्रवेशले बेला-बेला उनलाई खाजा खान वा भेट्न बोलाइरहन्थे। उनी टारिरहन्थिन्।
एकदिन उनले घरमै बोलाए। निकै कर गरे। आफ्नी आमालाई भेटाउने कुरा गरे।
‘अति नै कर गरेपछि र घरै बोलाएपछि चैं म गएँ,’ धानीमायाले भनिन्, ‘त्यही मेरो गल्ती थियो। फेसबुकमा बोलिरहने आफ्नै गाउँको मान्छेलाई विश्वास गर्नु पनि यत्रो गल्ती हुने रहेछ।’
विश्वास गर्नेको गल्ती हुँदैन भनेर सम्झाउन धानीमायाको कोही थिएन। किनभने उनले आफ्नो विश्वासमाथि कति ठूलो घात भयो भन्ने कसैलाई सुनाउने अनुमतिधरि पाइनन्।
घरभित्र गएपछि प्रवेशले ढोका लगाए।
उनले डराउँदै सोधिन्, ‘किन ढोका लगाएको?’
त्यसपछि प्रवेश उनको नजिक गएर उनको ज्यानमा छुन थाले। उनले फुत्किन थालेपछि मुख थुनिदिए।
‘मुख मात्र थुनेन, उसले मलाई बेस्मारी पिट्यो। अनि मलाई आफ्नै घरमा बलात्कार गर्यो,’ उनले भनिन्, ‘उसले त्यो दिन मलाई कहीँ गएर केही नभन्नू, फेरि पनि यस्तै गर्नुपर्छ भनेको थियो।’
केही समयपछि प्रवेशले उनलाई फेरि भेट्न बोलाए। उनले नमानेपछि धम्की दिन थाले।
‘तँ नआए तेरो घरमा भाइ आउँदैन। आमा पनि रहन्नन् भन्थ्यो,’ धानीमायाले सम्झिन्, ‘त्यसपछि म गएँ। उसले फेरि मलाई जबरजस्ती गर्यो।’
दुईपटक प्रवेशले उनीमाथि बलात्कार गरिसकेको थियो। यो पीडा मनमै दबाएर केही समयपछि उनी पढ्न भनेर काठमाडौं आइन्। काठमाडौंमा उनकी दिदी थिइन्। पछि भाइ पनि आए। अब गाउँमा एक्लै आमा भइन्। आमालाई प्रवेशले केही गर्दिन्छन् कि भन्ने तनावले उनको होस ठाउँमा हुन्थेन।
‘जतिखेरै मलाई उसले पिटेको, धम्क्याएको र बलात्कार गरेको कुरा मनमा घर गरेर बसेको थियो। म त डिप्रेसनमा जान थालेँ,’ उनले भनिन्, ‘म आधा होस हराएजस्ती भएकी थिएँ।’
बिदामा घर गएका बेला उनी प्रवेशसामु उपस्थित हुनुपर्थ्यो। कहिले जंगलमा, कहिले कहाँ, जहाँ भेटे पनि प्रवेशले धानीमायालाई आक्रमण गरिहाल्थे। उनी चुपचाप सहन्थिन्।
‘मलाई मेरो आमा र भाइको ज्यानको माया लाग्थ्यो। मैले आफ्नो माया त मारिसकेकी थिएँ। आफू बाँचेजस्तो पनि लाग्थेन,’ उनले भनिन्, ‘यो कुरा कसैलाई भनेर पत्याउँछन् जस्तो पनि लाग्दैनथ्यो। इज्जत मेरै जान्छ झैं लाग्थ्यो।’
प्रवेशले बेला-बेला प्रहरी, वकिल सबै आफ्ना साथी भएको कुरा सुनाउँथे। धानीमायालाई आफूमाथि भएको अपराधबारे उजुरी गर्ने ढोका बन्द भए झैं लाग्थ्यो।
घर जाँदा प्रवेशलाई भेटेर आएपछि उनको मन यसै पनि भत्केको हुन्थ्यो, शरीरभरी चोट पनि हुन्थे। कहिलेकाँही ती बाहिर पनि देखिन्थे। आमा र दिदीले के भएको भनेर सोध्थे। उनी बहाना बनाउँथिन्। कहिले लडेर भन्थिन्, कहिले साथीसँग चल्दा ठोक्किएर। आफूमाथि भएको अत्याचारको साविति दिने ठाउँ कतै पनि देख्थिनन्।
‘मलाई जबरजस्ती गरेर शरीरले त छोडिदिन्थ्यो। तर मलाई चलाउने रिमोट उसैले लिएर बसेको थियो। मलाई म उसकै रिमोटको इशारामा चलेकी छु झैं लाग्थ्यो,’ उनले भनिन्, ‘सायद जेल भनेको त्यस्तै हुँदो हो। मलाई सम्पूर्ण संसार जेलजस्तो लाग्थ्यो। ऊ चौकिदार बसेको थियो।’
पहिले-पहिले उनलाई साथीहरूसँग मिलेर घुम्न जान खुब मन पर्थ्यो। खाने उनको ठूलो सोख थियो। विस्तारै उनलाई बाहिर घुम्न जान डर लाग्न थाल्यो। पछि मनै लाग्न छोड्यो। बोलिरहनुपर्ने, डुलिरहनुपर्ने उनी गुमसुम हुन थालिन्। एक्लै बस्न थालिन्।
कति कुरा उनले बिर्सिन थालेकी थिइन्। पसलमा समान किन्न जाँनुपर्थ्यो, पुगिसक्दा के किन्ने बिर्सिन्थिन्।
धेरै समय यसरी नै बित्यो। बीच-बीचमा प्रवेशले बोलाउँदा जानुपर्थ्यो। बलात्कृत भएर फर्किनुपर्थ्यो।
साह्रै उकुसमुकुस भएपछि एकदिन बल्लतल्ल उनले आफ्नी मिल्ने साथीलाई प्रवेशको अपराधबारे बताइन्।
साथीले जिब्रो टोकिन्। उनी आफैं भक्कानिन्। परिवारलाई जसरी पनि भन्न सुझाइन्। तर धानीमायालाई भन्ने आँट थिएन। आमा र भाइलाई प्रवेशले मारिदिन्छ भन्ने डरले उनी चुपै बसिन्।
पोहोर साउनमा धानीमाया घर गएकी थिइन्। त्यहीबेला उनकी आमा आफ्नी सासू र नन्द भेट्न गइन्। यो साउन २७ गतेको कुरा हो, आमा गएपछि दिउँसोतिर प्रवेशको फोन आयो। भेट्न बोलाए। धानीमायाले आउन नसक्ने बताइन्। प्रवेशले आमा खै भनेर सोधे। उनले आमा हुनुहुन्न भनिन्। प्रवेशले फोन राखे।
उनले लामो सास फेरिन्। तर केहीबेरमा प्रवेश उनकै घर आइपुगे। दिन ढल्किसकेको थियो। घरको माथिल्लो तलामा लगेर प्रवेशले फेरि जबरजस्ती गरे।
त्यहीबेला धानीमायाकी आमा आइपुगिन्। घरको माथिल्लो तलामा घम्साघम्सीको आवाज सुनिन्। बिस्तारै माथि उक्लिइन्। उनले आफ्नी छोरीमाथि बलात्कार भइरहेको आफ्नै आँखाले देखिन्। प्रवेश हत्तपत्त उठिसकेका थिए। आमाले प्रवेशलाई एक झापट लगाइदिइन्।
‘म तपाईंकी छोरीलाई बिहे गर्ने हो। कसैलाई केही नभन्नू, सब ठीक हुन्छ,’ भन्दै प्रवेश निस्किए।
अनि आमाले धानीमायालाई सोधिन्- के हो यो?
अब त लुकाउन पर्ने केही थिएन। धानीमायाले आफूलाई प्रवेशले एक वर्षअघिदेखि धम्क्याउँदै बलात्कार गरिरहेको बेलिविस्तार लगाइन्। सबै सुनेर उनकी आमाको पनि एकछिन त होसहवास गयो।
जब आमा बौरिन् उनले भनिन्, ‘त्यसलाई यसै छोड्न हुन्न। प्रहरीमा उजुरी गर्नुपर्छ। त्यसले केही गरेछ भने गरेछ, तर छोड्न हुन्न त्यसलाई।’
आमाले यति भनेपछि बल्ल धानीमायामा हिम्मत आयो। भोलिपल्ट उनी प्रहरीमा गइन्। जाहेरी लेखेर ल्याउन पर्छ भन्ने सुझाव आएपछि उनी वकिलकहाँ पुगिन्। वकिलले जाहेरी लेखिदिए।
तर जाहेरी लिएर जाँदा प्रहरीले दर्ता गर्न मानेन।
‘तपाईंहरूको त चिनजान थियो, यो दर्ता हुन्न,’ प्रहरीले भनेको सम्झिँदै धानीमायाले सेतोपाटीसँग भनिन्, ‘बरू केटालाई बोलाइदिन्छौं, मिलापत्र गर्नुहोस्।’
‘बलात्कार गरेको मान्छेसँग मिलापत्र कसरी गर्न सक्छु म?’ उनको यो प्रश्नको जवाफ प्रहरीसँग थिएन।
ती प्रहरी को थिए, धानीमायाले नाम ख्यालै गरिनछिन्। उनलाई लाग्यो, प्रहरी त आफूलाई बलात्कार गर्नेको साथी रहेछ। प्रवेशले पनि सधैं प्रहरीले आफूलाई केही नगर्ने भन्दै धाक लगाउँथे।
धानीमायाले आफ्नो जाहेरी लेखिदिने वकिलकहाँ गएर प्रहरीले दर्ता गर्न नमानेको सुनाइन्। ती वकिलले जाहेरी लिएर सरकारी वकिलको कार्यालय जान भने।
उनी सरकारी वकिलकहाँ गएर सबै कुरा सुनाइन्। त्यहीँबाट सरकारी वकिलले प्रहरीलाई फोन लगाए। यो मुद्दा दर्ता गर्न भने।
अनि बल्ल प्रहरीले उनको जाहेरी दर्ता गरिदियो। बल्ल उनको मेडिकल जाँच भयो। प्रहरीमा उनले बयान पनि दिइन्।
आफूलाई बलात्कार गर्ने मान्छे थुनिएको सुन्न उनी आतुर थिइन्, उनलाई सास फेर्नु थियो।
‘त्यो मान्छे पक्राउ हुनु भनेको मैले ढुक्कले सास फेर्न पाउनु हो भन्नेजस्तो लाग्थ्यो। मेरो परिवारले बाँच्न पाउनु हो भन्नेजस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘उसले मलाई डर र धम्कीको कैदी बनाएको थियो। ऊ जेल परे म स्वतन्त्र हुनु होजस्तो लाग्थ्यो। मेरो यस्तो अवस्था प्रहरीले किन बुझ्थ्यो र? थोडी प्रहरी मेरो साथी थियो?’
जाहेरी दिएको २०/२२ दिनसम्म पुलिसले प्रवेशलाई पक्राउ नै गरेन। पक्राउ गरेपछि बल्ल अनुसन्धान अघि बढायो।
प्रहरीले अनुसन्धान सकेपछि सरकारी वकिलले उनको मुद्दा जिल्ला अदालत धादिङमा दर्ता पनि गर्यो। दर्तापछि सरकारी वकिलले भनेका थिए- अदालतले प्रहरी र प्रहरीले तपाईंलाई खबर गर्छ। प्रहरी नै बकपत्रका लागि साक्षी र तपाईंलाई लिन आउँछन्।
त्यसपछि धानीमाया अदालतको बाटो हेर्न थालिन्। दिन बिते, अहँ न खबर आयो न प्रहरी।
बलात्कार मुद्दामा अदालतले निरन्तर सुनुवाइ गर्छ, छिटो-छिटो सबै काम सकिन्छ र फैसला आउँछ भन्ने कुरा उनले सुनेकी थिइन्। तर पर्खाइका दुई महिना बित्दासम्म अदालतबाट कुनै खबर नआएपछि उनी आत्तिइन्। अनि काठमाडौंबाट उनी एकैचोटि जिल्ला अदालत गइन्।
अदालत गएर उनले बकपत्रको आफ्नो पालो कहिले आउँछ भनेर सोधिन्। अदालतका कर्मचारीले त उल्टै दुई पटकसम्म म्याद पठाउँदा पनि तपाईं अदालत किन आउनुभएन भनेर सोधे।
घरमा म्याद टाँसेको र फोन पनि गरेको भनेर अदालतका कर्मचारीले भन्दा उनी अचम्म परिन्।
‘न मेरो मोबाइलमा अदालतबाट फोन आएको छ, न हाम्रो घरमा कसैले म्याद टाँसेको छ,’ उनले भनिन्, ‘मलाई त अदालतका कर्मचारीमा पनि शंकै लाग्यो।’
त्यही पनि प्रक्रियाअनुसार अन्तिम पटक बोलाउने पालो बाँकी रहेछ। उनले बकपत्र गर्न आउनुपर्ने मिति लिइन्। धानीमाया अदालत आएर बकपत्रका लागि सोधिखोजी गरेको खबर प्रवेशले थुनामै पाएछन्। उनले कारागारबाटै फोन गरे र धम्क्याए।
‘मलाई जेल पुर्याइस्, देख एक न एकदिन त म यहाँबाट निस्किउँला, अनि तँलाई जानेको छु। तँलाई पनि म राख्दिनँ,’ उनले भने।
यसपाली भने धानीमायाले थुनाबाटै प्रवेशले फोन गरेको थाहा पाएपछि रेकर्ड गरेकी थिइन्।
अदालत गएर आफ्नाविरूद्ध बयान दिए जे पनि गर्ने धम्की दिएको त्यो फोन रेकर्ड उनले अदालतमा न्यायाधीशलाई सुनाउन भनेर सुरक्षित राखिन्।
हामीले धानीमायालाई धम्क्याउन प्रयोग गरेको फोन नम्बरबारे क्रसचेक गरेका थियौ। जिल्ला अदालत धादिङले उक्त फोन आफ्नै रहेको पुष्टि गरेको छ।
प्रवेशले धम्कीले यसपालि उनलाई गलाएन पनि। हिम्मत हारिनन्। प्रवेश थुनामा भएकाले पनि उनी डराइनन्।
आफ्ना साक्षीहरूलाई आफैं लिएर अदालत गइन्। सबैले बकपत्र गरे। उनले दिएको जाहेरी, प्रहरी र अदालतकहाँ उनले एकै बेहोराको बयान गरेकी छन्।
सबैले बयान दिएपछि मुद्दामा बहस चल्यो।
बहसका बेला धानीमायाले ‘मलाई पनि आफ्ना कुरा न्यायाधीशलाई सुनाउन मन छ’ भनेर सरकारी वकिललाई भनेकी थिइन्। मौका भने दिइएन।
दुवैतर्फको बहस भयो।
प्रवेशले अदालतमा धानीमाया र आफ्नो प्रेम सम्बन्ध रहेको, सहमतिमा यौन सम्बन्ध राख्ने गरेको, अरू केटीसँग बोल्यो भनेर धानीमायाले आफूलाई शंका गर्ने गरेको र आफू घटना भएको भनिएको दिन अस्पतालमा भर्ना भएको बयान दिएका छन्। त्यहीअनुसार कागजात पनि लिएर अदालतमा पेश गरे।
जिल्ला अस्पतालले पनि २०७७, साउन ६ बजेर १० मिनेटदेखि ६ बजेर ५० मिनेटसम्म प्रवेशलाई इमर्जेन्सीमा भर्ना गरिएको कागजात लेखिदिएको छ।
बहसमा प्रवेशका वकिलले यही कुरा भने, प्रमाण देखाए र आफ्नो पक्ष निर्दोष रहेको प्रमाणित गरिदिए।
अदालतले प्रवेशको बयान पत्यायो। उनले देखाएको कागजात सही मानिदियो। वैशाख ६ गते भएको अदालतको फैसलाले उल्टै बीस वर्ष उमेर पुगिसकेकी युवतीले आफूमाथि बलात्कार हुन लाग्दा प्रतिवाद नगरेको भन्दै धानीमायाकै कमजोरी देखाएर प्रवेशलाई सफाइ दियो।
अदालतले प्रवेशका साथमा हातहतियार केही नदेखिएकाले धानीमायालाई प्रतिकार गर्ने पर्याप्त अवसर थियोसम्म भनेको छ।
लामो समयदेखि आफूलाई प्रवेशले धम्क्याएर बलात्कार गरिरहेको भन्ने धानीमायाको बयानलाई न्यायाधीश आत्मादेव जोशीको इजलासले पत्याएन।
‘उमेर पुगेकी जाहेरवालीलाई मूल सडक किनारमा, घना बस्तीको बीचमा अवस्थित निज जाहेरवालीकै घरमा दिउँसोको समयमा भएको भनिएको वारदातमा आफूमाथि जबरजस्ती करणी हुन लाग्दा पीडितका तर्फबाट स्वभाविक रूपमा हुन सक्ने हारगुहार नआएको, वारदातको समयमा आफू अन्यत्र रहेको भनी धादिङ अस्पतालको पत्रबाट समर्थित भइरहेको समेतका अभियोग दावी शंकारहित तवरबाट पुष्टि हुन नआएको दावीबाट सफाइ पाउने ठहर्छ,’ न्यायाधीश जोशीले लेखेको फैसलामा उल्लेख छ।
प्रवेश कारागारमा हुन्जेल धानीमायालाई अपराधीले एक न एकदिन सजाय पाउँछन् भन्ने विश्वास थियो। प्रवेशको डर मनबाट हटिसकेको थियो। उनी विस्तारै आफूलाई सम्हाल्न सिक्दै पनि थिइन्।
जब प्रवेशले सफाइ पाए, उनी खंग्रङ्ग परिन्।
त्यसयता उनलाई निद्रा लाग्न छाडेको छ।
‘मलाई निद्रै लाग्दैन। मध्यरातमा आँखा लाग्यो भने ३-४ बजे बिउँझिन्छु। अनि उसैले पिटेको, जबरजस्ती गरेको र धम्क्याएको कुरा मात्र मनमा आइरहन्छ,’ उनले भनिन्, ‘मलाई निकै डर लाग्छ।’
अदालतले आफ्नो भन्दा पीडकको कुरा पत्याएकाले आफू निकै दुःखी भएको उनले बताइन्।
‘मैले न्यायाधीशसामु आफ्नो कुरा पनि राख्न पाइनँ। न्यायाधीशले मैले कागजमा लेखिदिएको बयान पनि पत्याएनन्। मैले प्रतिवाद नगरेको भन्ने फैसला रहेछ। मैले प्रतिकार गर्दा मलाई ज्यानै थिलथिलो हुनेगरी कुट्थ्यो, धम्क्याउँथ्यो,’ उनले भनिन्, ‘पछि त उसले मलाई रिमोटमा चल्ने बनाइसकेको थियो। धम्की दिएर मानसिक रूपमा कमजोर पारेर जबरजस्ती गरेकोलाई बलात्कार मान्दैन हो अदालतले?’
जिल्ला अस्पतालका डाक्टरले झुटो कागज बनाइदिएको पनि उनको आरोप छ।
‘पाँचवटा सिटामोल खाएर कोही अस्पतालको इमर्जेन्सीमा पुग्छ? पुग्छ भने म न्यायाधीशकै सामु पाँचवटा सिटामोल खान तयार छु,’ उनले भनिन्।
सेतोपाटीले पाँचवटा सिटामोल खाने मान्छेलाई कस्तो असर हुन्छ भनेर दुईजना डाक्टरसँग कुरा गरेको थियो। डाक्टरहरूले सामान्य मान्छे पाँचवटा सिटामोल खाएर इमर्जेन्सीमा पुग्ने गरी सिकिस्त नहुने बताए।
उनीहरूका अनुसार दिनमा चार ग्राम सिटामोल खायो भने चाहिँ कलेजोलाई असर गर्न थाल्छ। यस्ता बिरामी आए डाक्टरले सिधै कलेजो जाँच्न पठाउँछन्। पहिल्यैदेखि कलेजो खराब भएकालाई भने पाँच-सातवटा सिटामोलले असर गर्न सक्ने उनीहरूको भनाइ छ। तर अवस्था जुनसुकै भए पनि कलेजो जाँच्न आवश्यक हुने उनीहरूले बताए।
‘पाँचवटा सिटामोलले सामान्य मान्छे सिकिस्त हुँदैन। असर गर्न चार ग्राम खाएको हुनुपर्छ,’ ती डाक्टरले भने, ‘पहिल्यैदेखि कलेजोमा समस्या छ भने चाहिँ समस्या हुन सक्छ। तर धेरै सिटामोल वा औषधि खाएर असर गरेका बिरामी आए हामी सिधै कलेजो जाँच्न पठाउँछौं।’
प्रवेश त्यो साँझ आधा घन्टा अस्पतालको इमर्जेन्सीमा थिए भनेर कागजमा हस्ताक्षर गरिदिने डाक्टरलाई अदालतले बोलाएर सोधेको छैन।
अदालतले यत्ति प्रमाण पनि विश्लेषण नगरिदिएकोमा, डाक्टरले आफूले बनाइदिएको कागजले बलात्कारी छुट्न सक्छ भनेर विचार नगरेकामा आफ्नो चित्त निकै दुखेको धानीमाया बताउँछिन्।
अदालतले प्रवेशलाई सफाइ दिएको फैसला सुनाए पनि पूर्णपाठ लेखिसकेको थिएन। पूर्णपाठ आए मात्र उच्च अदालतमा पुनरावेदन हुन्छ भन्ने धानीमायालाई थाहा भयो। अनि उनी आफैं यसको पूर्णपाठ कहिले आउँछ भन्दै अदालत धाइरहिन्।
पूर्णपाठ आएपछि केही दिनअघि धादिङका सरकारी वकिलले जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै पुनरावेदन गर्ने निर्णय गरेको थाहा पाएपछि बिहीबार उनी उच्च अदालत आएकी थिइन्। उनको मुद्दा उच्च अदालतमा दर्ता भने भइसकेको छैन। उच्च सरकारी वकिल कार्यालय, पाटनका प्रमुख तथा सहन्यायाधीवक्ता सूर्य दाहालले एक-दुई दिनमै यो मुद्दा दर्ता गर्ने बताए।
बिहीबार धानीमायाले सरकारी वकिलसँग भेटेर भनिन् पनि, ‘बहस हुने दिन मलाई बोलाउनुहोला। म न्यायायधीशकै सामु आफ्ना कुरा राख्छु। पाँचवटा सिटामोलले अस्पताल भर्ना भएको कागज देखाएर यति लामो समय मलाई गरेको बलात्कार गरेकै होइन भन्ने प्रमाणित गरिदिएको रहेछ। मुद्दाबाट त्यसले सफाइ पायो। म पाँचवटा सिटामोल खाएर देखाउन चाहन्छु न्यायाधीशलाई।’
याे सामाग्री सेताेपाटी अनलाइनबाट साभार गरीएकाे हाे ।