काठमाडौं । सरकारले हिजो ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी हुने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी प्रावधान खुकुलो बनाउँदै अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश हिजै राष्ट्रपति कार्यालयमा सिफारिश गरिएको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले परामर्श गर्न समय लिएपछि जारी भएको थिएन ।
तर, अहिले केही बेरमै उक्त अध्यादेश जारी हुने भएको छ । राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारीले अध्यादेश जारी गर्ने तयारी भैसकेकोले अहिले केहीबेरमै जारी हुने जानकारी दिए । हिजो ल्याईएको अध्यादेशमा दल विभाजनको लागि ‘केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत’ भए पुग्ने व्यवस्था गरिएको छ । तर, नेकपा (एमाले) ले भने सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता लिन चेतावनी दिएको छ ।
दल विभाजनसम्बन्धी अध्यादेश आएलगत्तै एमाले वरिष्ठ नेता माधव कुमार नेपाल समूह नयाँ दल दर्ताको लागि तयारी अवस्थामा छ । नेपाल समूहले दल दर्ताको लागि आवश्यक कागजात तयार गरिसकेको नेता मेटमणि चौधरीले जानकारी दिए । माधव नेपालको नेतृत्वमा दर्ता हुने पार्टीमा वरिष्ठ नेता झलनाथ खनाल र वामदेव गौतमपनि हुने जनाईएको छ