पाँचथर । गठन भई कार्यसंचालन भएपछि प्रदेश नम्बर १ लोकसेवा आयोगले पहिलो दुईवटा परीक्षा संचालन गरेको छ । इन्जिनियरिङ सेवा, सिभिल समूह, सहायक स्तर चौथो तह असिस्टेन्ट सब इन्जिनियर (पद संख्या ८५) र सहकाय स्तर पाँचौ तह सब इन्जिनियर पदमा जम्मा ४८ पद संख्याको पदपूर्तिको लागि परीक्षा संचालन गरेको हो ।
आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईका अनुसार २०७७ चैत ९ गते, वैसाख ६ गते र असार २४ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न सेवा समूहका रिक्त पदहरुको परिपूर्तिका लागि माग आकृति फाराम प्राप्त भएको थियो । सोही अनुरुप चैत ३० गते स्थानीय सरकारी सेवा अन्तर्गत विज्ञापन गरिएको थियो । तर, कोरानाको नयाँ भेरियन्टका कारण वैशाख १६ गतेदेखि दरखास्त संकलन स्थगन हुन पुग्यो । फेरि असार २४ गते पुनः दरखास्त संकलन गरेर प्रकासित विज्ञापन अनुसार दुबै परीक्षा संचालन गरिएको भट्टराईले बताए ।
कर्मचारीको पदपूर्ति मिलानका लागि हाल संघीय सरकारले समायोजन ऐन लागु गरेको छ । विद्यमान कानुनअनुसार गर्न सक्नेअनुरुप नै प्रदेशमा लोक सेवा आयोगले परीक्षाका कार्यक्रमहरु संचालन गर्ने तर फायलबाट हुनुपर्ने बढुवामा भने समस्या रहेको बताउँदै आयोग अध्यक्ष भट्टराईले भने, “प्रदेश निजामती र स्थानीय तह सेवा सम्बन्धी ऐन आएको खण्डमा बढुवालगायतमा समेत आयोगले काम गर्न सक्छ ।” संघीय निजामती सेवा ऐन नआउन्जेल संघीय समायोजन ऐन अनुरुप काम गर्न सकिने र अहिले सोही अनुसार विज्ञापन गर्न सकिने बताए ।
रिक्त स्थानमा कर्मचारीको माग अधिक रहेको पाइएको बताउँदै पद्धतिअनुसार कर्मचारी नियुक्तिभन्दा पनि करारबाट नियुक्ति हुने प्रक्रिया अब निरुत्साहित हुनुपर्ने जिकिर गरे । “अब आयोगको सहमति बिना करारमा नियुक्ति गर्न मिल्दैन । केही सानो अवधिको लागि राख्न सकिन्छ । माग फाराम भरेर आयोगलाई पठाउनु पर्छ । सबै प्रदेशका निकायमा माग गरेर पठाउन आग्रह गरिएको छ,” उनले भने, “करारमा निष्पक्षता नहुने भएकोले करारलाई निरुत्साहित गरेर लैजानु पर्छ । एक लटको लिखित परीक्षा सकेका छौं । दशैं अगाडि कर्मचारी सिफारिस गर्ने तयारी छ । भदौ २५ गतेदेखि फेरि अर्को परीक्षा संचालन गर्दैछौं ।”
सहायक स्तर चौथो तहमा ५ हजार ६४८ र पाँचौ स्तरमा तहमा कूल ४ हजार ४९९ जनाको आवेदन प्राप्त भएको आयोगले जनाएको छ । दुबै तहमा साउन २९ र ३० गते गरिएको परीक्षामा परीक्षार्थीको सहभागिता ८३ प्रतिशतभन्दा अधिक छ । चौथो तहमा ४ हजार ७०५ जना र पाँचौं तहमा ३ हजार ७७८ जना परीक्षार्थी सहभागी भएको आयोगकी सदस्य सजना दाहालले जानकारी दिइन् । भनिन्,“प्रदेश संरचनामा नजाउन्जेल आयोगका परीक्षाहरुमा कूल आवेदकमध्ये ६० प्रतिशत सहभागी हुने दर देखिएकोमा प्रदेशले गरेको परीक्षामा यो दर बढेको पाइएको छ ।” उनले यसले प्रदेशमा लोकसेवा आयोगप्रतिको विश्वासलाई मजबुत गर्न बल पुग्ने जिकिर गरिन् ।
नेपालको संविधानको धारा २४४ को उपधारा १ मा ‘प्रत्येक प्रदेशमा प्रदेश लोकसोव आयोग रहनेछ’ भन्ने व्यवस्था छ । सोही अनुरुप २०७६ माघ ९ गते प्रदेश नं १ विराटनगरमा विधिवत रुपमा लोक सेवा आयोग स्थापना भएको थियो । संघीयताको उद्देश्यअनुरुप स्थापित भएका प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी पदपूर्ति गर्ने जिम्मेवारीसाथ प्रदेश लोकसेवा आयोग गठन भएको हो । आयोगले प्रदेश लोक सेवा आयोग ऐन २०७६ तथ अन्य सम्बन्धित कानुन बमोजिम जिम्मेवारीहरु बहन गर्ने क्रममा एक नियमावली, एक निर्देशिका, एक आचारसंहिता र दुई कार्यविधि गरी कूल पाँचवटा काुननहरु निर्माण गरेको छ । आयोग अध्यक्ष भट्टराईले भने, “स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न तहका पदहरुको ३० वटा र प्रदेश निजामती सेवा अन्तर्गतका विभिन्न तहका पदहरुको २१ गरी कूल ५१ वटा पाठ्यक्रम निर्माण गरी लागु गरेका छौं ।”
लोकसेवा आयोगले कोरोना संक्रमित परीक्षार्थी भए उनीहरु बञ्चित नहुन भनेर छुट्टै परीक्षा हलको व्यवस्था गरिएको जनाएको छ । “तर कोही पनि संक्रमितहरु हुनु हुन्नथ्यो,” आयोग सदस्य दाहालले भनिन्, “आफ्नै प्रदेशमा आयोगले काम गर्न सक्छ भन्ने सन्देश दिन पनि यो परीक्षार्थाीको उत्साहले बल पुगेको छ ।” उनले घर गाउँमा आएको लोकसेवा आयोग भएको र अझ विश्वास बढ्दै जानेमा आफू विश्वस्त रहेको सुनाइन ।
प्रशासनिकतर्फका कर्मचारी स्थानीय तहबाट माग भएर आएको तर प्रदेश मन्त्रालयबाट माग नभएको तर त्यहाँ पनि माग गरिरहेको आयोगले जनाएको छ । अध्यक्ष भट्टराई भन्छन्,“निकै दरबन्दीहरु खाली छन् । समायोजन भएर आएका पदहरुमा खाली छन् । माग फाराम भरेर पठाउनु हुनेछ । वार्षिक क्यालेन्डर निकालिसकिएको छ । साउनदेखि असारसम्मको सेड्युल निकालिएको छ । माग भएर आएका कुरा थपिँदै जान्छन् । स्थानीय तहबाट आएका मागहरुमा सबै विज्ञापन गरिएको अवस्था छैन । म्यानुअल फारम भरेर गरिएको छ ।” अब फारम अनलाइन आवेदनबाट गरिएको र यसलाई व्यापक गरिने उनले बताए । प्रदेश र स्थानीय सरकार तथा प्रदेश प्रहरीको लिखित परीक्षा गर्ने, अन्य सरकारी सेवाको पनि परीक्षा गरेर कर्मचारी छनोट गर्ने बताइएको छ । स्थानीय तहको ७ र ९ तहका कर्मचारीका लागि पनि माग भएर आएको आयोगले जनाएको छ ।