काठमाडाैं । लुम्बिनी प्रदेश सभा सदस्य बिमलाकुमारी खत्री वलीले आफू एमालेमै रहेको र विपक्षी गठबन्धनले आफ्नो हस्ताक्षर ‘दुरुपयोग’ गरेको बताएकी छिन्।
प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल अल्पमतमा परेपछि विपक्षी गठबन्धनले साेमबार प्रदेशप्रमुखसमक्ष ४१ जना प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहितको दाबी पेश गरेकाे थियाे। नयाँ सरकारको दाबीसहित पेश गरेको उक्त निवेदनमा बिमलाको नाम र हस्ताक्षर पनि समावेश छ।
तर वलीले एउटा विज्ञप्ती जारी गर्दै भनेकी छिन् ‘मैले सूर्यचिन्हबाट चुनाव जितेको र अहिले सूर्य चिन्ह एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रुपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्न चाहन्छु।’
तर यसअघि सर्वोच्च अदालतको फैसलापछि उनले माओवादीमै रहेको जनाएकी थिइन्। गत वैशाखमा उनले एउटा पत्रकार सम्मेलन गरेरै आफूखुसी माओवादी रोजेको बताएकी थिइन्।
मुख्यमन्त्री पोखरेलको सरकार अल्पमतमा परेपछि गठबन्धनले नयाँ सरकार गठनका लागि अविश्वासको प्रस्तावको तयारी गरिरहेकाे छ।
त्यसैबेला गत शुक्रबारदेखि वली वेपत्ता भएका समाचारहरू पनि सार्वजनिक भएका थिए। माओवादीले उनको खोजतलास गर्दा उनी ३ दिनसम्म सम्पर्कमा आएकी थिइनन्।
दाङको निर्वाचन क्षेत्र नं ३ ‘ख’बाट प्रदेश सांसदमा निर्वाचित नेकपा एमालेका उत्तरकुमार वलीको एउटा दुर्घटनामा मृत्यु भएपछि त्यहाँको उपनिर्वाचनमा तत्कालीन एमालेले उनकी श्रीमती विमलालाई चुनाव लडाएको थियो।
त्यो चुनावबाट जितेर प्रदेश सांसद भएपछि उनले माओवादी रोजेकी थिइन्। गत फागुनमा सर्वोच्च अदाललतको एउटा फैसलाबाट माओवादी र एमाले अलग अलग भएपछि उनले माओवादी रोजेकी हुन्।
अहिले मुख्यमन्त्री पोखरेल अल्पमतमा परेका छन् र विपक्षीले अविस्वासको प्रस्ताव ल्याउने तयारी गरिहरेका छन्। यही बेला वली केही दिन ‘हराएकी’ थिइन्। अहिले उनी मुख्यमन्त्री पोखरेलकै सम्पर्कमा छिन्।
कूल ८३ जना सांसद भएको लुम्बिनी प्रदेशमा माओवादी र नेपाली कांग्रेससहितका ४१ जना सांसद विपक्षी गठबन्धनमा भएको बताइएको छ। ३८ जना सांसद पोखरेलको समर्थनमा छन्। विपक्षीको त्यो ४१ जनामध्ये एक बिमला वली पनि हुन्।