काठमाडौं । अहिले नेपाली राजनितिमा चर्चामा रहेका पात्र हुन माधब नेपाल । नेपाल अहिले एमाले भित्रकाे अष्टुष्ट टाेलीमा छन् । बरिष्ठ नेता समेत रहेका नेपालले अाफ्नाे पार्टिकाे सरकार समेत ढालेर देउबालाइ समर्थन गरेका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार र बिहीबार थापाथलीस्थित एमाले केन्द्रीय कार्यालय पुगे। तत्कालीन नेकपामा र नेकपा विघटनपछि एमालेमा विवाद चुलिएपछि धुम्बाराहीको कार्यालयको साटो थापाथलीलाई मुकाम बनाउने निर्णय भएपछि कार्यालय उद्घाटन गर्दाबाहेक ओली त्यहाँ पुगेका थिएनन्। गत असार २९ गते प्रधानमन्त्रीबाट पदमुक्त भएपछि उनी पहिलोपटक बालकोटबाट थापाथली पुगेका थिए।
थापाथलीमा दुई दिन रहँदा उनले आफुनिकट नेताहरुसँग एमालेलाई एकताबद्ध गर्न सबै प्रयत्न गरिरहेको सुनाए। अझै पनि प्रयत्न जारी राखिने तर, एकता प्रयासका लागि भनेर अब पार्टीका गतिविधि रोक्न नसकिने भन्दै सकेसम्म छिटो एकता प्रयास टुंग्याउन उनले आफूनिकट नेताहरुलाई निर्देशन दिएका छन्।
त्यहीअनुसार एमाले संसदीय दलका उपनेता एवं स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेर कुरा गरेका छन्। आफूले नेपाललाई भेटेर अध्यक्ष ओली एकताका निम्ति प्रयासरत रहेको र भेटेर कुरा गर्न आग्रह गरेको उनले बताएका छन्।
थापाथलीमा ओलीले महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य विष्णुप्रसाद पौडेल तथा नेम्वाङलाई यसका लागि पहल अघि बढाउन र शनिबारसम्म यो प्रक्रियालाई टुंग्याउनेगरी काम गर्न भनेका थिए। ‘अब हामी प्रतिपक्षी दल हौं, धेरै अल्मलिएर, पार्टीका गतिविधि खुम्च्याएर हुँदैन, प्रतिपक्षका रुपमा पार्टीलाई चलायमान बनाएर हिड्नुपर्छ’, ओलीको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘कार्यदलले १० बुँदे सहमति गरिसकेको छ, त्यसलाई आधार मानेर अघि बढौं भनेर मैले भनेकै छु, अहिलेसम्म समय दिएकै छु, दोस्रो अध्यक्ष बनाउन पनि प्रस्ताव गरेकै छु। यदि उहाँ (माधव नेपाल)ले मान्दै नमान्ने हो भने बिस्तारै आउँदै गर्नुहोला, अरु साथीहरुसँग सल्लाह गरेर बैठक बोलाउनुपर्छ।’
ओलीले आउँदो शनिबारसम्म स्थायी कमिटीको बैठक डाक्न नेताहरुलाई भनिसकेका छन्। सकेसम्म त्यसअघि नै नेपालसँग संवाद गरेर उनलाई पनि बैठकमा सहभागी गराउने प्रयत्न गर्ने, नेपालसँग संवादको वातावरण नबने उनीनिकट नेताहरुलाई बैठकमा ल्याउने प्रयत्न गर्ने ओलीको तयारी छ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पनि अब चाँडै स्थायी कमिटी बैठक बस्ने बताए। ‘एकताका लागि अध्यक्षले हदैसम्म पहलकदमी लिइरहनुभएको छ, तर अब धेरै लामो समयसम्म पर्खिरहने सोचाइमा उहाँ हुनुहुन्न’, तामाङले भने, ‘त्यसकारण अब छिटै बैठक बस्छ होला।’
एमालेमा समानान्तर गतिविधि जारी राखेका नेपाल भने अहिलेसम्म सत्तापक्षीय गठबन्धनसँग पनि टाढिएका छैनन्। बालुवाटारमा बस्ने सत्तापक्षीय गठबन्धनको बैठकमा उनले आफ्ना प्रतिनिधि पठाइरहेका छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनको एक घटक, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि नियमित भेटिरहेका छन्। बिहीबार बिहान मात्र पनि प्रचण्डले कोटेश्वर पुगेर नेपाललाई भेटेका थिए।
प्रचण्डले दुई दिनअघि आफ्नो पार्टीको स्थायी कमिटी बैठकमा माधव नेपालपक्ष पनि सरकारमा सहभागी हुने ब्रिफिंग सुनाएका थिए। तर, नेपालपक्षमा सरकारमा सहभागी हुने वा नहुनेबारे एकमत छैन। केही नेताले सरकारमा जानुपर्ने आवाज उठाइरहेपनि धेरैजसोले भने त्यसको विपक्षमा मत राख्दै आएका छन्। नेपाल स्वयं पनि यो बेला पार्टीलाई एकताबद्ध गर्ने पहलमै जुट्नुपर्ने तर, सरकारमा जान नहुने मनस्थितिमा रहेको बताइन्छ।
नेपाली कांग्रेस र माओवादी केन्द्रले भने अझै पनि नेपालपक्ष सरकारमा सहभागी हुने आशा गरेका छन्। त्यहीकारण बिहीबार हुने भनिएको मन्त्रिपरिषद् बिस्तार रोकिएको छ।
‘उहाँहरु सरकारमा आउनुहोला भन्ने संकेत त केही देखिएको छैन, तैपनि उहाँहरु (माधव नेपालपक्ष)का लागि शुक्रबारसम्म कुर्ने कुरा भएको छ’, प्रधानमन्त्री देउवानिकट कांग्रेसका एक नेताले भने, ‘त्यसपछि भने उहाँहरु आए पनि नआए पनि मन्त्रिपरिषद् विस्तार हुन्छ।’